देउवा पक्षको छुट्टै १५औँ महाधिवेशन तयारी भेला

दमौली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै तनहुँमा छुट्टै तयारी भेला आयोजना गरेको छ।

दमौलीस्थित व्यास नगरपालिका–४ सिमलटारको निम्तो पार्टी प्यालेसमा मंगलबार आयोजित भेलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी, तनहुँमा केन्द्रीय प्रतिनिधिका रूपमा खटिएका पूर्वप्रदेशमन्त्री एवं केन्द्रीय प्रतिनिधि मणिभद्र कंडेल, जिल्ला संयोजक प्राडा कृष्णप्रसाद गौतमलगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

भेलामा १५औँ महाधिवेशनअन्तर्गत हुने क्षेत्रीय समिति, प्रदेश समिति तथा महाधिवेशन प्रतिनिधि चयनका लागि निर्वाचन प्रक्रिया, उम्मेदवारी र संगठनात्मक तयारीका विषयमा छलफल भएको थियो।

देउवा पक्षले तनहुँमा महाधिवेशनको तयारीलाई तीव्र बनाउने उद्देश्यले आयोजना गरेको भेलामा जिल्लाका विभिन्न स्थानीय तह तथा क्षेत्रबाट सहभागी नेता–कार्यकर्ताले महाधिवेशनलाई लक्षित गर्दै पार्टी संगठनको अवस्थाबारे धारणा राखेका थिए।

भेलामा सहभागी नेताहरूले महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न आपसी समन्वय र संगठन सुदृढीकरणमा जोड दिएका थिए।