बन्दीपुर गाउँपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्दै

तनहुँ, साउन २२ गते । तनहुँको बन्दीपुर गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन प्रक्रिया अघि बढाएको छ । वर्षौँसम्म एउटै व्यक्ति प्रधानाध्यापक भइरहने परिपाटी र सिन्डिकेट अन्त्य गर्दै नयाँ नेतृत्वमार्फत शैक्षिक सुधार ल्याउन गाउँपालिकाले यो कदम चालेको हो ।

गाउँपालिकाले शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम ९३ अनुसार पालिकाभित्रका नौ वटा विद्यालयका लागि साउन २१ गते औपचारिक रूपमा आवेदन आह्वान गरेको छ । जसमा छ वटा माध्यमिक र तीन वटा आधारभूत तहका विद्यालय रहेका छन् । माध्यमिक तहतर्फ विष्णु, पवित्रा, भानु, कालिका, शिव र अरुण मावि रहेका छन् भने आधारभूत तहतर्फ जगदिश्वर, चन्द्रोदय र सेतीगङ्गा आवि रहेका छन् ।

विद्यालयको नेतृत्व क्षमतालाई पारदर्शी, सबल र नतिजामुखी बनाउन नियमावलीको प्रावधान अनुसार आवेदन माग गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद लामिछानेले जानकारी दिए। सम्बन्धित विद्यालयमा कार्यरत स्थायी शिक्षकहरूबाटै प्राथमिकताका आधारमा प प्रधानाध्यापक चयन गरिने र शिक्षक उपलब्ध नभएमा कार्यपालिकाको निर्णयानुसार अन्य विद्यालयका शिक्षकहरूबाट समेत आवेदन लिन सकिने उनले बताए।

प्रधानाध्यापक पदका लागि आधारभूत तहमा शिक्षा शास्त्र विषयमा कम्तीमा स्नातक (वा प्रमाणपत्र तह उत्तीर्ण गरी पाँच वर्ष स्थायी सेवा) र माध्यमिक तहका लागि स्नातकोत्तर (वा शिक्षा शास्त्रमा स्नातक गरी कम्तीमा पाँच वर्ष स्थायी सेवा) पूरा गरेको हुनुपर्नेछ ।

आकांक्षी शिक्षकहरूले नागरिकता, नियुक्ति र तालिमका कागजातका साथै विद्यालय विकास प्रस्ताव (विद्यालय विकास योजना) र पछिल्लो तीन वर्षको अध्यापन नतिजा अनिवार्य पेस गर्नुपर्नेछ । सूचना प्रकाशित भएको १५ दिनभित्र विद्यालय व्यवस्थापन समिति र प्रशासन समक्ष कागजात पेस गरिसक्नुपर्ने गाउँपालिकाले जनाएको छ ।