तनहुँ, असार २५ गते । तनहुँको व्यास नगरपालिका–३ देउराली नगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने सेती–मादी नदीमाथि निर्माणाधीन मोटरेबल पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सम्बन्धित निकायको निरन्तर निर्देशन र ताकेतापछि निर्माण कम्पनीले काममा तीव्रता दिएसँगै आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत पुगेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।
कार्याललयको सूचना अधिकारी इन्जिनियर सुष्मा पाण्डेका अनुसार निर्माणमा ढिलाइ गरिरहेको ठेकेदार कम्पनीलाई काम छिटो सम्पन्न गर्न निर्देशन दिएपछि निर्माणले उल्लेख्य गति लिएको छ । पुलका जग र पिलर निर्माणको काम यसअघि नै सम्पन्न भइसकेको थियो । सामग्री अभावका कारण केही समय रोकिएको स्टिल संरचना जडानको काम अहिले आवश्यक सामग्री र जनशक्ति परिचालन गरेर तीव्र रूपमा अघि बढाइएको अन्तिम चरणमा पुगेको बताए।
गण्डकी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको १५५ मिटर लामो ‘स्टिल ट्रस’ पुलको निर्माण २०७७ साल मङ्सिर १९ गते सम्झौतामार्फत सुरु भएको हो । पुल निर्माणका लागि ३२ करोड ४० लाख २७ हजार रुपियाँ लागत निर्धारण गरिएको छ । कार्यालयको निरन्तर अनुगमन, प्राविधिक सुपरीवेक्षण र ताकेतापछि पछिल्लो समय निर्माण कार्यले अपेक्षित गति लिएको कार्यालयले जनाएको छ ।
९.५ मिटर चौडा हुने पुल सञ्चालनमा आएपछि ऋषिङ गाउँपालिकासहित दक्षिण तनहुँका बासिन्दालाई सदरमुकाम दमौलीसँग सडक पहुँच सहज हुनेछ । हाल निर्माणस्थलमा जनशक्ति र उपकरणको परिचालन बढाइएको छ । बाँकी काम पनि शीघ्र सम्पन्न गरी पुल सञ्चालनमा ल्याउने लक्ष्यका साथ निर्माण कार्य भइरहेको कार्यालयले जनाएको छ ।

उथल पुथल 








