तीज कार्यक्रम स्थगित गरेर बाढी पीडितलाई सहयोग

बागलुङ, भदौ १४ गते । हरितालिका तीजका अवसरमा हुने दर खाने तथा सांस्कृतिक कार्यक्रम स्थगित गरी भोटेकोशीको भीषण बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने क्रम बढ्दै गएको छ।तीजमा हुने खर्च कटौती गर्दै विभिन्न संघसंस्था तथा समूहले बाढीपीडितका लागि राहत तथा सहयोग जुटाउन थालेका छन्

संकटको समयमा मनोरञ्जनात्मक कार्यक्रमभन्दा मानवीय सेवामा जुट्नु उचित ठानी ‘गण्डकी प्रदेश स्तरीय अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता’ स्थगित गरेर बाढी प्रभावितका लागि राहत सामग्रीसहित नगद सहयोग गरिएको संस्थाका अध्यक्ष रोहित सुनारले जानकारी दिए।

उहाँका अनुसार प्रतियोगिताका लागि छुट्याइएको बजेटबाट बाढी प्रभावित परिवारलाई आवश्यक राहत सामग्रीसँगै नगद सहयोग गरिएको हो।

‘‘देशमा उत्पन्न विषम् परिस्थितिलाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गरेर बाढीपीडितका लागि सामाजिक तथा मानवीय क्षेत्रमा सहयोग गर्ने निष्कर्षमा पुग्यौं’’ सुनारले भने ।

प्रतियोगिताका लागि संकलित रकममध्ये ८५ हजार रुपियाँ रकम र राहत सामग्री बाढीपीडितलाई सहयोग गरिएको छ भने १० हजार रुपियाँ पत्रकार महासंघको लेखनवृत्ति कोषलाई सहयोग गरिएको सुनारले बताए।

प्राकृतिक विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सामाजिक संस्थाको दायित्व भएकाले सरकार तथा सम्बन्धित निकायलाई राहत र उद्धार कार्यमा सहयोग पुग्ने गरी प्रधानमन्त्री विपद् उद्वार कोषमा रकम जम्मा गर्ने निर्णय गरिएको सुनारले बताउनुभयो ।

यसैगरी चिप्लेटी महिला समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा ३६ हजार ५ सय ५५ रुपियाँ सहयोग गरेको छ । समूहले तीज सांस्कृतिक कार्यक्रम स्थगित गरेर त्यसमा खर्च हुने रकम बाढी प्रभावितको राहतका लागि सहयोग गरेको छ ।

‘‘बाढीमा परेर धेरैले ज्यान गुमाएका छन्, सयौं परिवार घरबारविहीन भएको देख्दा कार्यक्रम गर्न मनले नै मानेन । बाँचिएछ भने अर्को साल तीज मनाउने निधो गर्दै पीडितलाई सहयोग गर्ने निर्णयमा पुग्यौं’ चिप्लेटी महिला समूहकी सदस्य गीता थापाले भने।

यसैगरी बागलुङ नगरपालिका वडा नं.–४ उपल्लाचौरस्थित आदर्श टोल विकास समितिले बाढीपीडितको लागि ५१ हजार १ सय ५१ रुपियाँ सहयोग गरेका छन् । यस्तै, जैमिनी नगरपालिका वडा नं.–१ कुश्मीसेरास्थित सहारा क्लबले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार १ सय ११ रुपियाँ सहयोग गरेको छ ।