काठमाडौँ, भदौ ११ गते । रसुवामा आएको भीषण बाढीपछि सरकारले खोज, उद्धार, राहत तथा उपचार कार्यलाई तीव्र बनाएको छ । नेपाली सेनासहित सुरक्षा निकायका टोली प्रभावित क्षेत्रमा परिचालन गरी हवाई तथा स्थलमार्गबाट उद्धार र राहत वितरणको काम भइरहेको छ ।
रसुवामा हवाई उद्धार
बाढी प्रभावितको उद्धारका लागि नेपाली सेनाका पाँच वटा हेलिकोप्टर परिचालन गरिएका छन् । सेनाका अनुसार हालसम्म ११४ जनाको हवाई उद्धार गरिएको छ । बुधबार ९७ जना तथा आज बिहान मैलुङको टनेलबाट तीन जना र टिमुरेबाट १४ जनाको हवाई उद्धार गरिएको हो ।
त्यस्तै, ६३ जनाको स्थलमार्गबाट उद्धार गरिएको छ । नदी तथा सडक क्षेत्रमा थप व्यक्ति फसेको हुन सक्ने भएकाले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ ।
दुई हजारभन्दा बढी सैनिक परिचालन
नुवाकोटदेखि चितवनसम्म बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका दुई हजारभन्दा बढी फौज परिचालन गरिएको छ । उनीहरूले खोज तथा उद्धारसँगै प्रभावितलाई राहत वितरणको कामसमेत गरिरहेका छन् । रातभर सेनाका ११ वटा टोलीले स्थलमार्गबाट उद्धार कार्य गरेका थिए ।
राहत सामग्री ढुवानी
बाढी प्रभावितका लागि आवश्यक राहत सामग्री नेपाली सेनाका ११ वटा ट्रकमार्फत त्रिशूलीसम्म ढुवानी गरिएको छ । त्यहाँबाट आवश्यकताअनुसार हवाई साधनमार्फत प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउने काम भइरहेको छ । हालसम्म राहत सामग्रीका चार खेप टिमुरे पुगिसकेको नेपाली सेनाले जनाएको छ ।
घाइतेको उपचार
बाढी प्रभावित क्षेत्रमा घाइतेहरूको उपचारका लागि मेडिकल टोलीसमेत परिचालन गरिएको छ । त्रिशूली क्षेत्रमा थप मेडिकल टोली परिचालन गरी घाइतेको उपचार भइरहेको नेपाली सेनाले जनाएको छ । सरकारले प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार तथा खोजी कार्यलाई समन्वयात्मक रूपमा अघि बढाइरहेको जनाएको छ ।







उथल पुथल 









