पहिरोले पेट्रोलपम्प पुरिँदा पाँच मोटरसाइकल क्षतिग्रस्त

सुलीकोट, साउन २१ गते । गोरखा नगरपालिका–११ बाह्रकिलोस्थित गोरखाकाली फ्युल सेन्टर पेट्रोलपम्पमाथिबाट आएको पहिरोले डिस्पेन्सर मेसिन र पार्किङमा राखिएका पाँच वटा मोटरसाइकल पुरिएका छन् ।

बिहीबार बिहान ७ बजे पेट्रोलपम्पभन्दा करिब ५० मिटर माथिबाट खसेको पहिरोले पेट्रोलपम्पको संरचना तथा मोटरसाइकल पुरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर सुरक्षा व्यवस्थापन, उद्धार तथा पहिरो पन्छाउने काममा जुटेको उहाँले जानकारी दिनुभयो । “पेट्रोलपम्पको अवस्था बुझ्ने र पुरिएका मोटरसाइकल सुरक्षित रूपमा निकाल्ने प्रयास भइरहेको छ,” उहाँले भन्नुभयो ।

पहिरोबाट कुनै मानवीय तथा पशुचौपायाको क्षति नभएकाले ठुलो दुर्घटना टरेको प्रहरीले जनाएको छ । पहिरोका कारण पेट्रोलपम्पको सेवा अवरुद्ध हुनुका साथै आसपासको आवतजावतमा समेत असर परेको छ । थप जोखिम हुन नदिन आवश्यक सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।

अचानक आएको पहिरोले पेट्रोलपम्पमा लाखौँ रुपियाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । क्षतिको यकिन विवरण प्राविधिक मूल्याङ्कनपछि मात्र थाहा हुने जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

वर्षायामसँगै पहिरोको जोखिम बढ्दै गएकाले जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ ।

पालुङटारमा पहिरोले एक घर बगायो
गोरखाको पालुङटार नगरपालिका–१ कोलकाटेमा गएराति आएको अविरल वर्षाका कारण एक घर पहिरोले बगाएको छ ।

स्थानीय बाबुराम थापाको भूकम्प प्रतिरोधात्मक प्रविधिबाट निर्माण गरिएको एकतले घरमाथिबाट लेदोसहितको पहिरो खस्दा पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पहिरोको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय गोरखाको टोली घटनास्थलतर्फ गएको र क्षतिको विवरण संकलन तथा मुचुल्का तयार गर्ने काम भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

साभार:गोरखापत्र अनलाईन