तनहुँ।
तनहुँको म्याग्दे गाउँपालिका–५ स्थित पर्यटकीय कान्छीबराही झरनामा शनिबार साहसिक खेल क्यानोनिङ सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा स्थानीयसहित विभिन्न स्थानबाट आएका सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।
करिब ७० मिटर अग्लो झरनामा विशेष सुरक्षा उपकरण र डोरीको सहायताले सञ्चालन गरिएको क्यानोनिङमा सहभागीहरूले प्राकृतिक सौन्दर्यसँगै साहसिक खेलको रोमाञ्चक अनुभव लिएका थिए। पहिलोपटक झरनामा क्यानोनिङ गर्ने धेरै सहभागीले यस क्षेत्रलाई साहसिक पर्यटनका लागि उपयुक्त गन्तव्यका रूपमा विकास गर्न सकिने बताएका थिए।
म्याग्दे गाउँपालिका–५ वडा कार्यालय र फन नेभर इन एडभेन्चर नेपाल८८को समन्वयमा आयोजित कार्यक्रमको उद्देश्य कान्छीबराही झरनालाई साहसिक पर्यटनको नयाँ गन्तव्यका रूपमा प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ।
आयोजकका अनुसार कार्यक्रम सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न भएको छ। आगामी दिनमा पनि यस्ता साहसिक पर्यटन प्रवर्द्धनका गतिविधिलाई निरन्तरता दिँदै कान्छीबराही झरनालाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने योजना रहेको जनाएको छ।
स्थानीयवासीले पनि यस्ता कार्यक्रमले क्षेत्रको पर्यटन प्रवर्द्धन, स्थानीय व्यवसायको विकास तथा रोजगारी सिर्जनामा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। कान्छीबराही झरना पछिल्लो समय प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनको सम्भावना बोकेको गन्तव्यका रूपमा परिचित बन्दै गएको छ।











