तनहुँ, साउन ८ गते । ट्र्याक खुलेको झन्डै तीन दशक पुग्दा पनि तनहुँको दुलेगौँडा–हर्कपुर सडकको स्तरोन्नति हुन सकेको छैन । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्रः एक रणनीतिक सडक’ कार्यक्रम अन्तर्गत निर्माणाधीन सडकको काम निर्माण व्यवसायीमाथि परेको अदालती मुद्दा र आर्थिक समस्याले गर्दा पुनः अलपत्र परेको छ ।
विसं २०५२ मा ट्र्याक खोलिएको यस सडकको स्तरोन्नतिको काम रोकिएपछि वर्षायाममा हिलाम्मे र खाल्टाखुल्टीले गर्दा स्थानीयवासीले सास्ती बेहोर्नु परेको छ । सडकको अवस्था खेत जस्तै बनेको भन्दै स्थानीयवासीले तत्काल निर्माणको काम अघि बढाउन माग गरेका छन् । स्थानीय रोशन क्षत्रीले असारमा धान रोपेको भए अहिले गोड्ने बेला हुने भन्दै सडकको अवस्था खेत जस्तै बनेको बताए।“सडकमा हिँड्न र सवारीसाधन चलाउनै कठिन भएको छ । बिरामीलाई आकस्मिक रूपमा अस्पताल लैजानु पर्दा झनै समस्या हुने गरेको छ,”उनले बताए।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितका अनुसार निर्माण व्यवसायीले निर्माण सामग्री आपूर्तिकर्तालाई भुक्तानी नदिएको र चेक बाउन्स भएपछि निर्माण कम्पनीविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेपछि काम रोकिएको हो । कानुनी अड्चनपछि निर्माण व्यवसायी निर्माण स्थल छाडेर सम्पर्कविहीन जस्तै बनेको उनले बताए। नगरपालिकाले पटक पटक ताकिता गरेपछि निर्माण कम्पनीका प्रतिनिधि श्याम लामा आफैँ खटिएर काम अघि बढाएको थिए । त्यसपछि कामले गति लिएर करिब ५० प्रतिशत भौतिक प्रगति भएकोमा मुद्दा परेपछि हाल फेरि काम रोकिएको छ ।” निर्माण व्यवसायीले आयोजनाको करिब ४५ प्रतिशत रकम भुक्तानीसमेत लगिसकेको जनाइएको छ । आर्थिक सङ्कट र कानुनी झन्झटका कारण बाँकी काम अघि बढ्न नसकेको नगरपालिकाले जनाएको छ ।
दुलेगौँडा–हर्कपुर सडकखण्डको १०.१८ किलोमिटर सडक कालोपत्रे गर्ने गरी विसं २०७६ कात्तिक ४ गते २५ करोड १० लाख ६० हजार रुपियाँमा ठेक्का सम्झौता भएको थियो । विसं २०७६ मङ्सिर २४ गते शिलान्यास गरिएको आयोजना विसं २०७८ माघ १० गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । निर्धारित समयमा काम पूरा नभएपछि पटक पटक म्याद थपिए पनि आयोजना अझै सम्पन्न हुन सकेको छैन । शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने करिब २३ किलोमिटर लामो सडकको पहिलो चरणमा १०.१८ किलोमिटर स्तरोन्नति गर्न लागिएको थियो ।
सडकको चौडाइ आठदेखि नौ मिटर कायम गरी साढे पाँच मिटर कालोपत्रे गर्ने योजना छ । ट्र्याक खुलेको लामो समयपछि सडक कालोपत्रे हुने आशामा रहेका स्थानीय निर्माणको काम पटक पटक रोकिएपछि निराश बनेका छन् ।

उथल पुथल 









