सडक पेटी अतिक्रमण हटाउन व्यास नगरपालिकाको अन्तिम चेतावनी

वडा २, ३ र ४ का घरधनी तथा व्यवसायीलाई साउन १५ भित्र पक्की संरचना, टिनका छज्जा र अवरोध हटाउन आग्रह

दमौली, साउन ८ ।
व्यास नगरपालिकाले सडक पेटी अतिक्रमण गरी निर्माण गरिएका पक्की संरचना, टिनका छज्जा, र्‍याम्प, सिँढी तथा सार्वजनिक आवागमनमा अवरोध पुर्‍याउने अन्य संरचना हटाउन सम्बन्धित घरधनी तथा व्यवसायीलाई अन्तिम चेतावनी दिएको छ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै नगर कार्यपालिकाको निर्णयअनुसार यसअघि २०८३ जेठ २५ गते ३५ दिनको सूचना जारी गरिएको भए पनि अटेर भएकाले पुनः स्मरण गराइएको जनाएको छ।

नगर कार्यपालिकाको २०८३ साउन १ गते बसेको २४३औँ नियमित बैठकको निर्णयअनुसार व्यास नगरपालिका–२, ३ र ४ को बजार क्षेत्रमा सडक अधिकार क्षेत्र मिचेर निर्माण गरिएका र्‍याम्प, सिँढी, टिनका छज्जा तथा सार्वजनिक आवागमनमा अवरोध पुर्‍याउने व्यवसायजन्य संरचना हटाउन निर्देशन दिइएको हो।

नगरपालिकाले सडकमा सिधै पानी खसाल्ने पाइपसमेत हटाउन आग्रह गर्दै सम्बन्धित सबैले २०८३ साउन १५ गतेभित्र आफ्नै खर्चमा संरचना हटाइसक्न अनुरोध गरेको छ।

तोकिएको समयभित्र संरचना नहटाए नगरपालिकाले प्रचलित कानुनबमोजिम आफैँ हटाई आवश्यक कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको छ।

नगरपालिकाले सडक, फुटपाथ तथा सार्वजनिक स्थानको सहज प्रयोग सुनिश्चित गर्न अतिक्रमण हटाउने अभियानलाई प्रभावकारी रूपमा अघि बढाइने जनाएको छ।