कावासोती, साउन ६ गते । पूर्वी नवलपरासीको कावासोती नगरपालिकास्थित नमुना मध्यवर्ती सामुदायिक वनभित्र सञ्चालनमा रहेको जटायु रेस्टुरेन्ट अहिले अध्ययन अनुसन्धान केन्द्रका रूपमा विकास हुँदै गएको छ ।
पशु उपचारमा प्रयोग हुने डाइक्लोफेनेक औषधीका कारण गिद्धको सङ्ख्या घट्न थालेपछि सुरक्षित आहार उपलब्ध गराउने उद्देश्यले समुदाय, संरक्षणकर्मी र सरोकारवालाको सहकार्यमा सन् २००६ मा जटायु रेस्टुरेन्ट स्थापना गरिएको थियो । डाइक्लोफेनेकयुक्त औषधी प्रयोग गरिएका पशुको सिनो खाँदा गिद्धको मृत्यु हुने तथ्य पुष्टि भएपछि नेपालमा उक्त औषधीको प्रयोगमा रोक लगाइएको थियो ।
संरक्षणविद् तथा जटायु रेस्टुरेन्टका संयोजक डिबी चौधरीले रेस्टुरेन्ट स्थापना भएपछि यस क्षेत्रमा गिद्ध संरक्षणमा उल्लेखनीय सफलता हासिल भएको बताउनुभयो ।
नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये आठ प्रजाति यहाँ अभिलेख भएका छन् । तीमध्ये चार प्रजाति रैथाने हुन् भने अन्य चार प्रजाति जाडोयाममा हिमाली क्षेत्रबाट बसाइँ सरेर आउने गरेका हुन् । संयोजक चौधरीका अनुसार रेस्टुरेन्ट स्थापना भएपछि गिद्धको सङ्ख्या बढ्नुका साथै स्थानीय समुदायमा पनि गिद्ध संरक्षणप्रति सकारात्मक सोचको विकास भएको छ । “पहिला गिद्ध संरक्षणमा धेरैको चासो थिएन । अहिले गिद्ध प्रकृतिका लागि आवश्यक जीव भएको बुझाइ छ । स्थानीयवासी संरक्षण अभियानमा सक्रिय छन्,” चौधरीले भन्नुभयो ।
एकै ठाउँमा धेरै गिद्धको अवलोकन गर्न सकिने नयाँ पर्यटकीय गन्तव्यका रूपमा जटायु रेस्टुरेन्ट रहेको संयोजक चौधरीले बताउनुभयो । वन्यजन्तुमा आधारित पर्यटकीय गतिविधिमा एउटा फरक र नयाँ आयामका रूपमा जटायु रेस्टुरेन्ट विकास भएको र गिद्धका हरेक आनीबानी सहजै अवलोकन गर्न सकिने हुँदा पर्यटकको रोजाइमा पर्न थालेको जटायुका कर्मचारी यम नेपालीको भनाइ छ । जटायु रेस्टुरेन्ट अहिले संरक्षण केन्द्रमा मात्र सीमित नरहेको र पछिल्लो समय यहाँ गिद्ध अवलोकनका लागि जिल्लाभित्र तथा बाहिरबाट पर्यटक आउने गरेका छन् । वनभित्र निर्माण गरिएको ‘सी’ आकारको अवलोकनगृहबाट पर्यटक तथा अनुसन्धानकर्ताले गिद्धले आहार ग्रहण गरिरहेको दृश्य नजिकबाट अवलोकन गर्न सक्ने संयोजक चौधरीले बताउनुभयो ।
कावासोती नगरपालिका वडा नं. ७, १२ र १३ मा रहेको नमुना मध्यवर्ती सामुदायिक वनको करिब ५२ हेक्टर क्षेत्रफलमा फैलिएको संरक्षण क्षेत्रमा गिद्धका लागि सुरक्षित वासस्थान व्यवस्थापन गरिएको छ । गिद्धले बास बस्न रुचाउने सिमललगायतका अग्ला रूख रोप्ने, स्वच्छ पानीको व्यवस्था गर्ने, नियमित रूपमा सुरक्षित आहार उपलब्ध गराउने तथा घाइते वा कमजोर गिद्धको उपचार र निगरानी गर्ने व्यवस्था गरिएको जटायु रेस्टुरेन्टका कर्मचारी नेपालीले बताउनुभयो ।
गिद्ध संरक्षणसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको छ । वन्यजन्तु संरक्षण, जैविक विविधता र चराचुरुङ्गी अध्ययनमा रुचि राख्ने विद्यार्थी तथा अनुसन्धानकर्ताका लागि पनि यो क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको छ । यहाँ एक वर्षमा एक लाख २० हजार बढीले अवलोकन गर्ने गरेका छन् ।

उथल पुथल 









