व्यास–७ कलेस्ती पुलमा बस दुर्घटना, चालक गम्भीर अन्य १४ जना सामान्य घाइते

तनहुँ, ५ साउन।
तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मंगलबार यात्रुवाहक बस दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् भने अन्य १५ जना घाइते भएका छन्। कलेस्तीबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ६४६५ नम्बरको यात्रुवाहक बस चालकले नियन्त्रण गुमाउँदा कलेस्ती खोलाको पुलमा ठोक्किएर दुर्घटनामा परेको हो। बसमा करिब २५ जना यात्रु सवार रहेका थिए ।
दुर्घटनामा व्यास नगरपालिका–२ निवासी २६ वर्षीय शम्सेर नेपाली (परियार) चालक सिटमै च्यापिएर गम्भीर घाइते भएका छन्। उनको बायाँ खुट्टा, छाती, घाँटी र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेको कमाण्डमा ट्राफिक प्रहरीसहित १७ जनाको टोली घटनास्थल पुगेर चालकको उद्धार गरेको थियो।
दुर्घटनामा चालकसहित कुल १७ जना घाइते भएका छन्। चालकको अवस्था गम्भीर रहेको छ भने अन्य घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। सबै घाइतेहरूको दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि केही समय प्रभावित बनेको सडक अहिले सुचारु भएको छ। दुर्घटनाग्रस्त बसलाई सडकबाट हटाउने काम भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।