तनहुँ, असार २८ गते । तनहुँको व्यास नगरपालिकाले छुवाछुतमुक्त नगरपालिका घोषणा गर्दै नगरभित्र जातीय विभेद तथा छुवाछुतको घटना भए पीडितको कानुनी उपचारको सम्पूर्ण दायित्व आफैँले बेहोर्ने निर्णय गरेको छ। नगरपालिकाको ४५औँ नगरसभाको दोस्रो बैठकले शनिबार यस्तो निर्णय गर्दै सामाजिक समानता र विभेदरहित समाज निर्माणप्रति आफ्नो प्रतिबद्धता जनाएको हो।
नगरप्रमुख वैकुण्ठ न्यौपानेले छुवाछुतमुक्त नगरपालिकाको घोषणा केवल औपचारिकतामा सीमित नरहने बताए। न्यौपानेले नगरभित्र जातीय विभेद तथा छुवाछुतको कुनै घटना भए पीडितलाई न्याय दिलाउन आवश्यक कानुनी उपचारको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले नै लिने निर्णय गरिएको जानकारी दिए।
नगरपालिकाले यसअघि विभिन्न वडामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै सामाजिक विभेद अन्त्यका लागि सरोकारवाला निकायसँग समन्वय गर्दै आएको जनाएको छ। नगरप्रमुख न्यौपानेले संविधानले सुनिश्चित गरेको समानता र सामाजिक न्यायको मर्मअनुसार विभेदरहित समाज निर्माणका लागि नगरपालिकाले निरन्तर पहल गर्दै आएको बताए।न्यौपानेले छुवाछुतमुक्त घोषणाले सामाजिक एकता र सहअस्तित्वलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
नेपालको संविधानले जातीय विभेद तथा छुवाछुतलाई दण्डनीय अपराधका रूपमा व्यवस्था गरेको छ। व्यास नगरपालिकाले छुवाछुतमुक्त घोषणाले विभेदरहित समाज निर्माणमा सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा गरेको जनाएको छ।
नगरसभाले महिला तथा अपाङ्गता भएका ‘क’, ‘ख’ र ‘ग’ वर्गका व्यक्तिको नाममा घरको नक्सा पास गर्दा लाग्ने दस्तुरमा १० प्रतिशत छुट दिने निर्णय पनि गरेको छ। यसबाट महिला तथा अपाङ्गता भएका व्यक्तिको सम्पत्ति स्वामित्वलाई प्रोत्साहन पुग्ने विश्वास नगरपालिकाले लिएको छ।
नगरसभाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५५ करोड ३० लाख एक हजार रुपियाँको बजेट पारित गरेको छ। बजेटमध्ये एक अर्ब दुई करोड ३७ लाख ६२ हजार रुपियाँ चालुतर्फ र ५२ करोड ९२ लाख ३९ हजार रुपियाँ पुँजीगततर्फ विनियोजन गरिएको छ।
बैठकले व्यास नगरपालिका आर्थिक विधेयक, विनियोजन विधेयक र ऊर्जा विकास विधेयक पारित गरेको छ। साथै न्यायिक समिति, पूर्वाधार विकास समिति, सामाजिक विकास समितिलगायतका प्रतिवेदन परिमार्जनसहित स्वीकृत गर्दै रातो किताबमा प्रकाशन गर्न निर्देशन दिएको छ।
नगरसभा सदस्यहरूले दिएका सुझाव समेटेर निर्णय गरिएको नगरपालिकाका प्रवक्ता तथा वडा नं. ९ का वडाध्यक्ष सुरेश थापाले जानकारी दिए।

उथल पुथल 









