लागुऔषध ओसारपसार रोक्न सीमा क्षेत्रमा कडा निगरानी

लमजुङका सुरक्षा निकायका प्रमुखहरूले सीमाक्षेत्रमा लागुऔषध ओसारपसारको अवस्थाबारे अनुगमन गरेका छन् । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल नेतृत्वको संयुक्त टोलीले मङ्गलबार जिल्लाका प्रमुख सीमाक्षेत्रको स्थलगत अनुगमन गरेको हो ।

जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार तनहुँसँग जोडिएको सुन्दरबजार नगरपालिका–१ पाउँदी बजार तथा गोरखासँग सीमा जोडिएको राइनास नगरपालिका–७ गरमबेँसी क्षेत्रमा अनुगमन गरिएको हो । टोलीमा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेत, सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारी, इलाका प्रहरी कार्यालय भोटेओडारका प्रमुख प्रहरी निरीक्षक चन्द्रकला भट्टराईलगायत सहभागी हुनुहुन्थ्यो ।

अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले जिल्लामा बढ्दो लागुऔषध प्रयोग न्यूनीकरण तथा बाहिरी जिल्लाबाट सीमाक्षेत्र हुँदै हुन सक्ने सम्भावित ओसारपसारको अवस्थाबारे जानकारी लिएको प्रमुख जिल्ला अधिकारीको सचिवालयमा कार्यरत दिननाथ अधिकारीले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय भोटेओडारका प्रमुख प्रहरी निरीक्षक चन्द्रकला भट्टराईले आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने पाउँदी र चेपे–गोरखा सीमाक्षेत्रबाट लागुऔषध ओसारपसार हुन नदिन कडा निगरानी बढाइएको बताउनुभयो । उहाँले अस्थायी प्रहरी पोस्ट पाउँदी र धमिलीकुवालाई समेत उच्च सतर्कता अपनाउन निर्देशन दिइएको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले तनहुँसँग जोडिएको पाउँदी क्षेत्रमा विगतका केही महिनामा लागुऔषधसहित पक्राउ पर्ने घटना भए पनि पछिल्लो तीन महिनामा त्यस्तो घटना नदेखिएको बताउनुभयो । उहाँले जिल्लाका सबै सीमावर्ती प्रहरी इकाइलाई निगरानी थप प्रभावकारी बनाउन निर्देशन दिइएको जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले सीमाक्षेत्रबाट कुनै पनि प्रकारको लागुऔषध ओसारपसार हुन नदिन सुरक्षा जाँचलाई थप कडा र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । उहाँले इलाका प्रहरी कार्यालय भोटेओडार तथा अस्थायी प्रहरी पोस्ट पाउँदी र धमिलीकुवाका इन्चार्जलाई नियमित चेकजाँच, निगरानी र समन्वयलाई सुदृढ बनाउन आग्रह गर्नुभएको हो ।

साभार:गोरखापत्र अनलाईन