तनहुँ, असार २४ गते । यहाँको प्रख्यात धार्मिक स्थल छिम्केश्वरी मन्दिर आसपासको वनक्षेत्रलाई धार्मिक वन घोषणा गरिएको छ । समुद्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित यस क्षेत्रमा धार्मिक पर्यटनलाई सँगसँगै अगाडि बढाउने उद्देश्यले डिभिजन वन कार्यालय तनहुँले सो क्षेत्र समुदायलाई हस्तान्तरण गरेको हो ।
आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी मन्दिर आसपासको ७.२१ हेक्टर राष्ट्रिय वनलाई छिम्केश्वरी धार्मिक वनका रूपमा घोषणा गर्दै डिभिजन वन कार्यालय तनहुँले छिम्केश्वरी पर्यटन विकास समितिलाई व्यवस्थापनको जिम्मेवारी सुम्पिएको छ । डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले समितिका अध्यक्ष कृष्णमान तामाङलाई धार्मिक वनको प्रमाणपत्र हस्तान्तरण गर्न‘भयो । रानाभाटले धार्मिक आस्थाको केन्द्र संरक्षण गर्ने, राष्ट्रिय फूल लालीगुराँसको जगेर्ना गर्ने र वनक्षेत्रलाई पर्यटकीय आकर्षणका रूपमा विकास गर्ने उद्देश्यले शनिबारदेखि यो जिम्मेवारी समुदायलाई सुम्पिएको बताउनुभयो । वन हस्तान्तरणसँगै सो क्षेत्रमा जैविक विविधता जोगाउन लालीगुराँससहित विभिन्न प्रजातिका चार सय बिरुवा रोप्ने अभियानसमेत शुभारम्भ गरिएको छ ।
गोरखाको प्रसिद्ध मनकामना माईकी दिदीका रूपमा पुजिने छिम्केश्वरी माईको मन्दिर धार्मिक आस्थासँगै प्राकृतिक मनोरम दृश्यका लागि प्रख्यात छ । जिल्लाकै सर्वोच्च उचाइमा रहेको यस मन्दिरपरिसरबाट धौलागिरि, अन्नपूर्ण, मनासलुलगायत हिमशृङ्खलाका मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।

उथल पुथल 









