चुँदीरम्घामा भानु जयन्ती तीन दिनसम्म मनाइने

तनहुँ, असार २२ गते । नेपाली भाषाका आदिकवि एवं राष्ट्रिय विभूति भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती उहाँकै जन्मस्थल तनहुँको चुँदीरम्घामा विविध रचनात्मक कार्यक्रमका साथ तीन दिनसम्म मनाइने भएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको बैठकले यही असार २७, २८ र २९ गते भानु जयन्ती भव्य रूपमा मनाउने निर्णय गरेको हो ।

भानु नगरपालिकाका प्रमुख तथा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष आनन्दराज त्रिपाठीले आदिकविको जन्मथलोलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक पर्यटनको विशिष्ट केन्द्रका रूपमा विकास गर्न स्थानीय सरकार पूर्ण रूपमा लागिपरेको बताउनुभयो । भाषा र साहित्यको यो ऐतिहासिक धरोहरको संरक्षण र प्रचारप्रसारका लागि संघीय, प्रदेश र स्थानीय सरकारबीच त्रिपक्षीय समन्वय र सहकार्य आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

उपप्रमुख उमा गोतामेले भानु जयन्तीले नेपाली भाषा र संस्कृतिको संवद्र्धनमा नयाँ पुस्तालाई जोड्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भानुभक्तको जन्मस्थलको विकासका लागि महिला समूह, टोल विकास संस्था र स्थानीय सरोकारवालाहरूको सहभागितालाई थप सुदृढ बनाइने उल्लेख गर्नुभयो । समितिकी सदस्य अञ्जना तिमिल्सेनाले आदिकविको योगदानलाई संस्थागत गर्न विद्यालय स्तरदेखि नै भानुभक्तका कृतिहरू र नेपाली भाषाको महत्त्वबारे रचनात्मक कार्यक्रमहरू लैजानुपर्ने धारणा राख्नुभयो ।

समितिका कार्यकारी सचिव कृपाहरी लौडारीका अनुसार तीन दिने कार्यक्रम अन्तर्गत असार २७ गते विभिन्न मठमन्दिरमा पूजा–अर्चना, २८ गते भानुभक्तीय रामायण वाचन–पाठ प्रतियोगिता तथा राष्ट्रिय स्तरका स्रष्टाहरूको सहभागितामा विशेष कवि गोष्ठी आयोजना गरिनेछ। यसै गरी असार २९ गते मुख्य दिन प्रभातफेरी, झाँकी प्रदर्शन, भानुभक्तको सालिकमा माल्यार्पण तथा उहाँको जीवन र कृतित्वमाथि विचार गोष्ठी गरिनेछ ।

वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मनुभएका भानुभक्त आचार्यलाई नेपाली साहित्यको प्राथमिक कालका प्रतिनिधि कविका रूपमा सम्मान गरिन्छ । तत्कालीन समयमा संस्कृत भाषामा मात्र सीमित रहेको वाल्मीकि रामायणलाई सरल, सरस र बुझिने नेपाली भाषामा अनुवाद गरी उहाँले आम जनसमुदायसम्म पु¥याउनुभएको थियो ।

भानुभक्तले नेपाली लोकजीवन, संस्कृति र जनबोलीलाई समेटेर प्रश्नोत्तर, भक्तमाला, वधुशिक्षा जस्ता कृतिको सिर्जना गर्नुभयो, जसलाई समकालीन साहित्यकार मोतीराम भट्टले संग्रह गरी पुस्तकका रूपमा प्रकाशन गरेपछि भानुभक्त नेपाली साहित्यको शिखर पुरुषका रूपमा स्थापित हुनुभएको हो । भौगोलिक रूपमा विभक्त नेपाललाई भाषिक र सांस्कृतिक रूपमा एकताबद्ध बनाउन भानुभक्तको योगदान अतुलनीय मानिन्छ । वि.सं. १९२५ असोज ६ गते निधन हुनुभएका राष्ट्रिय विभूति भानुभक्तको जन्मस्थल चुँदीरम्घा वर्तमान समयमा नेपाली भाषा र साहित्यका अनुरागीहरूका लागि एक महत्त्वपूर्ण तीर्थस्थलका रूपमा रहेको छ ।