तनहुँको श्रृङ्गपथ १५ दिनका लागि बन्द

तनहुँ, असार १९ गते । सडक स्तरोन्नति तथा पूर्वाधार निर्माण कार्यलाई गति दिन श्रृङ्गपथअन्तर्गत पर्ने ढाक्रे खोला सडकखण्डमा १५ दिनका लागि यातायात सञ्चालन स्थगित गरिएको छ । निर्माणाधीन सडकखण्डमा ढलान कार्य भइरहेकाले उक्त व्यवस्था लागू गरिएको हो ।

तनहुँको ऋषिङ गाउँपालिका–६ अन्तर्गत पर्ने उक्त सडकखण्डमा  ढलान कार्य भइरहेको गाउँपालिकाले जनाएको छ । निर्माण सामग्रीको व्यवस्थापन, ढलानको मापदण्ड कायम राख्ने तथा निर्माण कार्यलाई निर्धारित समयभित्र सम्पन्न गर्ने उद्देश्यले बिहीबार देखि १५ दिनको लागिसडकमा सवारी आवागमन रोकिएको हो ।

गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले निर्माण कार्यलाई प्रभावकारी र दिगो बनाउन अस्थायी रूपमा यातायात व्यवस्थापन गर्नुपरेको बताए। निर्माण सम्पन्न भएपछि स्थानीयवासीले सुरक्षित र सहज यात्रा सुविधा प्राप्त गर्ने श्रेष्ठको भनाइ छ । श्रेष्ठले सडक पूर्वाधारको विकासले गाउँपालिकाभित्रको आवागमनलाई सहज बनाउनुका साथै आर्थिक तथा सामाजिक गतिविधिलाई समेत टेवा पुग्ने उल्लेख गरे। निर्माण कार्य सम्पन्न भएपछि यस क्षेत्रका नागरिकले वर्षौंदेखिको धुलाम्मे तथा हिलाम्मे सडकको समस्याबाट राहत पाउने अपेक्षा गरिएको छ ।

सडक सञ्चालन स्थगित रहेको अवधिमा वैकल्पिक मार्गको प्रयोग गर्न गाउँपालिकाले आग्रह गरेको छ । सवारी साधनहरूले चालिसे–काहुँ–दमौली सडक तथा सिमनाथ–काहुँ–चालिसे सडक प्रयोग गर्न सक्ने जनाइएको छ । निर्माण कार्यलाई समयमै सम्पन्न गर्न स्थानीयवासी, यातायात व्यवसायी तथा सरोकारवालाहरु सहयोग आवश्यक रहेको गाउँपालिकाले जनाएको छ । केही समयको असहजतापछि दीर्घकालीन रूपमा सुरक्षित र व्यवस्थित सडक सुविधा उपलब्ध हुने भएकाले आवश्यक सहयोग र सहकार्यका लागि गाउँपालिकाले अनुरोध गरेको छ ।