भादगाउँ खानेपानी निर्वाचन रोक्न माग गर्दै प्रशासनमा धर्ना

तनहुँ, असार १९ गते। व्यास नगरपालिका–१ स्थित भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आठौँ अधिवेशनअन्तर्गत हुन लागेको निर्वाचन प्रक्रिया रोक्न माग गर्दै असन्तुष्ट उपभोक्ताहरूले जिल्ला प्रशासन कार्यालय तनहुँमा धर्ना दिएका छन्।

निर्वाचनअघि संस्थाको विधान संशोधन गरी सहमतिका आधारमा अधिवेशन सम्पन्न गर्नुपर्ने माग राख्दै उनीहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका छन्।

उपभोक्ता चीनबहादुर भण्डारीले सर्वपक्षीय सहमतिबिना निर्वाचन प्रक्रिया अगाडि बढाउन खोजिएको भन्दै विरोध गरिएको बताए। भण्डारीका अनुसार उपभोक्ता प्रतिनिधि, सर्वदलीय तथा सर्वपक्षीय समन्वयमार्फत पहिले विधान संशोधन गर्ने र त्यसपछि सहमतिका आधारमा अधिवेशन सम्पन्न गर्ने समझदारी बनेको थियो।

सोही सहमतिअनुसार निर्वाचन समितिले यसअघि मनोनयन दर्तालगायतका कार्यक्रम स्थगित गरी सहमतिका लागि समय उपलब्ध गराएको थियो। तर उक्त सहमति र प्रशासनको आग्रहविपरीत कुनै सर्वपक्षीय छलफल नगरी निर्वाचन अधिकृतले एकपक्षीय रूपमा निर्वाचन प्रक्रिया अघि बढाउने सूचना प्रकाशित गरेको भन्दै उनीहरूले विरोध जनाएका छन्।

यसले उपभोक्ताबीच थप विवाद सिर्जना गर्ने, संस्थामा दीर्घकालीन असहज अवस्था निम्त्याउने तथा लोकतान्त्रिक अभ्यास र उपभोक्ताको अधिकारमा प्रतिकूल असर पार्ने उनीहरूको दाबी छ।

उनीहरूले संस्थाको विधान संशोधन तत्काल लिपिबद्ध गरी लागू गर्नुपर्ने, एक धारा एक प्रतिनिधिलाई मतदान गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने, एउटै घरबाट पति वा पत्नीमध्ये एक जनामात्र प्रतिनिधि वा उम्मेदवार बन्न पाउने व्यवस्था गर्नुपर्ने तथा एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

त्यसैगरी निर्वाचन प्रक्रिया तत्काल स्थगित गरी सर्वपक्षीय सहमतिका आधारमा अधिवेशन सम्पन्न गर्नुपर्ने, संशोधित विधान लागू गरी सोहीअनुसार नयाँ निर्वाचन कार्यतालिका प्रकाशन गर्नुपर्ने तथा सम्पूर्ण उपभोक्ताको समान सहभागिता, पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ।

यता, संस्थाको आठौँ अधिवेशनअन्तर्गत बिहीबार उम्मेदवारहरूको मनोनयन दर्ता सम्पन्न भएको निर्वाचन संयोजक केशव भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार अध्यक्ष पदमा रामकुमार गोशेली र सन्तबहादुर तामाङको उम्मेदवारी परेको छ भने उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिव पदमा एक–एक जनाको मात्र उम्मेदवारी परेकाले ती पदमा सर्वसम्मत चयन भइसकेको छ।  संस्थाको नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान कार्यक्रम तय गरिएको छ।