बागलुङ, असार १७ गते । पश्चिम बागलुङका मिर्गौला रोगीलाई हेमोडायलासिस सेवा दिने गरी बडीगाड आधारभूत अस्पतालमा डायलासिस सेवा सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बडीगाड आधारभूत अस्पतालको नवनिर्मित भवन तथा हेमोडायलासिस सेवाको उद्घाटन गर्दै स्थानीय तहमै हेमोडायलासिस सेवा सञ्चालन हुँदा ग्रामीण क्षेत्रका जनताले ठुलो राहतको महसुस गर्ने बताउनुभयो ।
पर्याप्त उपकरण र शय्या अभावमा डायलासिस गर्ने बिरामीले लामो समय पालो कुर्नुपर्ने बाध्यताको अन्त्य गर्ने अभियानमा प्रदेश सरकार लागिपरेको उल्लेख गर्दै उहाँले बडीगाडमा सेवा सञ्चालन हुँदा पश्चिम बागलुङका नागरिक लाभान्वित हुने बताउनुभयो ।
१७ करोड १८ लाख ५३ हजार ८२ रुपियाँको लागतमा १५ शय्याको बडीगाड अस्पतालको भवन निर्माण गरिएको हो । हेमोडायलासिस सेवा सुरु भएसँगै बडीगाड गाउँपालिकाका करिब ८५ जना बिरामीसहित छिमेकी पालिका र जिल्लाका नागरिकलाई सहज हुने गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो । डायलासिस सेवा सुरु गर्न गाउँपालिकाले नर्सलाई ‘डायलासिस नर्सिङ’ तालिम लिन काठमाडौँ पठाएर दक्ष बनाएको र अस्पतालको सेवा विस्तार गर्न दुई जना मेडिकल अधिकृतसमेत पदपूर्ति गरिएको अध्यक्ष अधिकारी जानकारी दिनुभयो । नजिकमा डायलासिस सेवा नहुँदा बिरामीले बागलुङ, पोखरा, नारायणगढ र बुटवलका अस्पतालबाट डायलासिस गराइरहेका छन् । “यो क्षेत्रमा डायलासिस सेवा नहुँदा टाढाका अस्पतालमा जानुपर्ने बाध्यता र आर्थिक बोझका साथसाथै हैरानी खेप्नुपर्ने परिस्थितिको अन्त्य हुने विश्वास छ,” अध्यक्ष थापाले भन्नुभयो ।
डायलासिस सेवा चलाउन अध्यक्ष अधिकारी, उपाध्यक्ष भीमसेन वन र स्वास्थ्य संयोजक वीपेन्द्र केसीसहितको टोलीले विभिन्न अस्पतालमा पुगेर सेवाबारे अध्ययन गरेको थियो । “डायलासिस मेसिन जडानको काम अन्तिम चरणमा पुगेको छ, व्यवस्थापकीय काम सकिएलगत्तै सेवा सुरु गर्दैछौँ,” जनस्वास्थ्य निरीक्षक हेमबहादुर पुनले भन्नुभयो ।
सङ्घीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत बडीगाड अस्पताललाई एक करोड एक लाख ४४ हजार आठ सय रुपियाँ बराबरका पाँच वटा डायलासिस मेसिन उपलब्ध गराइएको छ । डायलासिस सेवालाई प्रभावकारी बनाउन थप नर्स र डाक्टरलाई तालिम पठाउने गाउँपालिकाको योजना अध्यक्ष अधिकारीले सुनाउनुभयो ।
यसैबिच बडीगाडलाई पोषणमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गरिएको छ । बडीगाडलाई देशकै पहिलो पोषणमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले पश्चिम बागलुङलाई प्राथमिकता दिँदै प्रत्येक वर्ष एक अर्बभन्दा बढी बजेट विनियोजन हुँदै आएको बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सभाका उपसभामुख बिना थापाले पोषणमैत्री पालिका घोषणालाई दिगोपनाका लागि सबैको सहकार्य अपरिहार्य हुने धारणा व्यक्त गर्नुभयो । पोषणमैत्री कार्यक्रमको चार वर्षमा छ हजार ६६३ वटा कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष अधिकारीले बताउनुभयो ।

उथल पुथल 









