त्रिशूलीको पुरानो पुलको लट्ठाबाट युवकको सकुशल उद्धार

तनहुँ, असार १७ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ मा पर्ने पुलजिप र चितवनको मुग्लिन बजार जोड्ने त्रिशूली नदीमाथिको पुरानो पुलको लट्ठामा जोखिमपूर्ण रूपमा हिँडिरहेका युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

दाङ जिल्ला निवासी विशाल मगर नाम गरेका ती व्यक्ति बुधबार दिउँसो करिब १२ बजे पुलको सुरक्षा लट्ठा (तार)मा चढेर जोखिमपूर्ण रूपमा हिँडिरहेको अवस्थामा फेला परेका थिए ।

अत्यन्तै खतरनाक र जोखिमपूर्ण अवस्थाबिच प्रहरीले उनलाई सकुशल भुइँमा उतार्न सफल भएको हो । उक्त घटनाको जानकारी पाउनासाथ प्रहरीचौकी पुलजिप र इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको संयुक्त प्रहरी टोलीले ठुलो जोखिम मोलेर उनको उद्धार गरेको हो ।

नदीमाथि अग्लो स्थानमा रहेको पुलको लट्ठामा मानिस हिँडिरहेको देखेपछि स्थानीय र यात्रुहरू त्रसित बनेका थिए ।जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) द्वारिकाप्रसाद घिमिरेले घटनाको पुष्टि गर्दै दाङका विशाल मगरलाई सकुशल उद्धार गरिएको जानकारी दिनुभयो ।

प्रनाउ घिमिरेले भन्नुभयो, “पुलजिप र मुग्लिनका प्रहरी टोलीले तुरुन्तै पुगेर ती व्यक्तिको सकुशल उद्धार गरेका छन् ।  उनले के कारणले त्यस्तो जोखिमपूर्ण कदम चालेका हुन् भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ । हामी थप अनुसन्धान गरिरहेका छौँ ।’’