म्याद थपिँदा पनि पराशर मार्ग स्तरोन्नति सुस्त

अमरराज नहर्की
तनहुँ, असार १७ गते । 
विश्व बैँकको अनुदान सहयोगमा व्यास नगरपालिकामा सञ्चालित ‘गौरवको आयोजना’ पराशर मार्ग स्तरोन्नतिको कामले अपेक्षित गति लिन सकेको छैन । पटक–पटक म्याद थपिए पनि आयोजनाको भौतिक प्रगति करिब ५० प्रतिशतमा सीमित भएपछि आयोजना अन्योलमा पर्ने चिन्ता बढेको छ ।

सहरी शासकीय तथा पूर्वाधार विकास आयोजना अन्तर्गत व्यास नगरपालिकाका चार वटा वडालाई जोड्ने गरी चक्रपथ निर्माणको काम सुरु गरिएको हो । निर्माण व्यवसायीले काममा ढिलाइ गरेपछि नगरपालिकाले निर्माण कम्पनीमाथि दबाब बढाएको छ ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले आयोजनाको प्रगति सन्तोषजनक नरहेको बताउनुभयो । उहाँले निर्माण व्यवसायीलाई कामदार र उपकरणको सङ्ख्या बढाएर तोकिएको समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिइए पनि ठेकेदारले अटेर गरिरहेको जानकारी दिनुभयो ।

व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार २०८० जेठदेखि सुरु भएको आयोजनाको निर्माण अवधि २०८२ असारसम्मका लागि तोकिएको थियो । तोकिएको अवधिमा काम सम्पन्न नभएपछि पहिलो पटक २०८२ चैत मसान्तसम्म म्याद थपिएको थियो ।

योजना शाखाका अधिकृत भेषराज तिवारीका अनुसार चैत मसान्तसम्म पनि काम सम्पन्न हुन नसकेपछि पुनः २०८३ असारसम्मका लागि म्याद थपिएको छ । तर थपिएको म्यादसम्म पनि आयोजनाको भौतिक प्रगति करिब ५० प्रतिशत मात्रै पुग्ने देखिएको उहाँले बताउनुभयो ।

१०.५५ किलोमिटर लम्बाइको यस सडक आयोजना अन्तर्गत हालसम्म घाँसीकुवा–पराजुली चोक खण्डको करिब डेढ किलोमिटर सडक मात्रै कालोपत्र गरिएको छ । ५२ करोड ७८ लाख ३० हजार रुपियाँ लागत अनुमान गरिएको आयोजनाको ठेक्का बिकेएचटिडिसिएल–एसिपिएल जेभी, कालीमाटीले ४० करोड ८३ लाख ३५ हजार ९२१ रुपियाँमा प्राप्त गरेको थियो । कम्पनीले लागत अनुमानभन्दा २३.४१ प्रतिशत कम रकममा ठेक्का सम्झौता गरेको थियो ।

बुल्दीखोला, बेलटारी, फराकचौर, अधेरीभन्ज्याङ, कुमालगाउँ, समता स्कुल हुँदै कलेस्ती खण्ड जोड्ने यस सडकले व्यास नगरपालिका–७, ९, १० र ११ लाई प्रत्यक्ष रूपमा जोड्ने छ ।

आयोजनाको प्रगति सन्तोषजनक नभएपछि थप म्याद दिने, जरिवाना लगाउने वा ठेक्का सम्झौता रद्द गर्ने विषयमा निर्णयका लागि सङ्घीय सरकारको पूर्वाधार विकास मन्त्रालयमा पत्राचार गरिएको नगरपालिकाले जनाएको छ ।