कास्की, असार १२ गते ।पोखरा महानगरपालिका–२१ का कृषक ज्ञानबहादुर कार्कीको दैनिकी तरबुजा खेती मै हुने गरेको छ ।
२४ रोपनी क्षेत्रफलमा तरबुजा खेती गरिरहनुभएका कार्की कृस्ति हिल कृषि तथा पशुपक्षी फार्ममा सिजन सकिन लाग्दा पनि तरबुजा उत्पादन गर्नुभएको छ ।
वैदेशिक रोजगारीबाट फर्किए पछि व्यावसायिक कृषि खेती सुरु गर्नुभएका कार्की कास्कीको एक उदाहरणीय कृषकका रूपमा स्थापित हुनुहुन्छ ।
उहाँलाई पोखरा महानगरपालिकाले उत्कृष्ट कृषकका रूपमा सम्मान समेत गरेको छ ।पोखरा महानगर क्षेत्रमा तरबुजा खेती भित्राउने कृषकको पहिचान बनाउनु भएका कार्कीको फार्ममा हाल तरबुजा लगायतका तरकारी बाली उत्पादन भइरहेको छ ।
पोखरा महानगर क्षेत्रमा करिब पाँच सय रोपनी क्षेत्रफलमा तरबुजा खेती हुने गरेको छ । तरबुजा कृषकलाई महानगरपालिकाले बिउ, मल्चिङ प्लास्टिक, असिना छेक्ने जाली लगायतको सहयोग उपलब्ध गराउँदै आएको छ ।
यस वर्ष असिना पानीले क्षति पुर्याएका कारण उत्पादनमा ह्रास आएपछि करिब २५० टन तरबुजा उत्पादन भएको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो ।
कृषकको प्रोत्साहन सहित बाली बिमा र सुरक्षाका लागि महानगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आइरहेको उहाँले बताउनुभयो । यस वर्ष तरबुजा खेतीबाट कृषकले साढे दुई करोड बढी आम्दानी गरेका छन् ।
तरबुजालाई स्थानीय उत्पादनका रूपमा प्रवद्र्धन गर्न महानगरपालिकाले तरबुजा मेला सहित सुरक्षित ढुवानीका लागि कृषि एम्बुलेन्स र बिक्री वितरण गर्न कृषि बजारको व्यवस्था गर्ने गरेको छ ।
कृषकको उत्पादनलाई बजारको ग्यारेन्टी गर्दै स्थानीय उत्पादनको प्रवद्र्धनमा पोखरा महानगरपालिका प्रतिबद्ध रहेको नगर प्रमुख धनराज आचार्यले बताउनुभएको छ ।
स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै महानगरको तर्फबाट तरबुजाको न्यूनतम समर्थन मूल्य समेत तोकिएको छ ।कृषकको उत्पादन बिक्री नभई खेर जाने अवस्था रहेमा महानगरपालिकाले प्रतिकेजी ३५ रुपियाँका दरले सहयोग प्रदान गर्दै आइरहेको छ ।
साभार:गोरखपत्र अनालाईन

उथल पुथल 









