विद्यालय समायोजन अभियान

कावासोती, असार १२ गते । सामुदायिक विद्यालयमा विद्यार्थी छैनन् तर शिक्षक र सुविधा भने सरकारले उपलब्ध गराएको छ । विद्यार्थी नहुँदासमेत विद्यालय गाभ्ने र सहज ढङ्गबाट शिक्षा दिन पालिकाले भरपर्दो नीति बनाउन नसक्दा पूर्वी नवलपरासीका धेरै सामुदायिक विद्यालय विद्यार्थीविहीन बन्दै गएका छन् ।

पूर्वी नवलपरासीमा रहेका आठ पालिका विशेष गरी बौदीकाली र बुलिङटारमा रहेका झन्डै ८० सामुदायिक विद्यालयमध्ये आधामा विद्यार्थीको सङ्ख्या शिक्षकको भन्दा पनि कम छ । पालिकाले न त ती विद्यालय गाभ्ने योजना ल्याउन सकेको छ न त शिक्षकलाई विद्यार्थी धेरै हुने विद्यालयमा सरुवा नै गर्न सकेको छ ।

ढिलै भए पनि बुलिङटार गाउँपालिकाले विद्यालय गाभ्ने र शिक्षक दरबन्दी मिलान सुरु गरेको बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारी मगरले भन्नुभयो । अहिलेको बजेटमा समेत जिल्लाका सबै पालिकाले सरकारी विद्यालय ‘मर्ज’ अभियानलाई बजेटमै व्यवस्था गरेर प्रक्रिया सुरु गरेपछि शिक्षा क्षेत्रमा नयाँ अभ्यासको सुरुवाती हुने गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले बताउनुभयो ।

बुलिङटारका सामुदायिक विद्यालयमा शिक्षकको सङ्ख्या धेरै र विद्यार्थीको सङ्ख्या नगण्य हुन थालेपछि पालिकाले विद्यालय मर्ज अभियान चलाएको थियो । २३ आधारभूत विद्यालय संयोजन गरेर विद्यार्थीलाई पायक पर्ने विद्यालयमा पठाइएको गाउँपालिका शिक्षा शाखाका प्रमुख बुद्धप्रसाद रानाभाटले बताउनुभयो ।

बौदीकाली, हुप्सेकोट, विनयीत्रिवेणी गाउँपालिकाको पनि अवस्था उस्तै छ । बौदीकाली गाउँपालिकाका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीभन्दा शिक्षक धेरै छन । दिनभरि पढाउनै नपर्ने, रजिस्टरमा उपस्थितिको हस्ताक्षर गरेर घर जाने जस्ता कार्य धेरै हुन थालेपछि सबै वडामा विद्यालय संयोजन अभियान चलाएर विद्यार्थीलाई सहज पढ्ने वातावरण कायम गराउन पालिकाले विद्यालय मर्ज अभियान नै थालेको पालिकाका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो ।

साभार:गोरखापत्र अनलाईन