तनहुँ, असार ९ गते । तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७४ करोड ३२ लाख ७८ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ । सोमबार सम्पन्न २० औँ गाउँसभाको दोस्रो बैठकमा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले आगामी आर्थिक वर्षको अनुमानित बजेट पेश गरेका हुन्।

विनियोजित बजेटमध्ये चालुतर्फ ४७ करोड ९३ लाख रुपियाँ र पुँजीगततर्फ २६ करोड ३९ लाख रुपियाँ छ । उक्त बजेटको स्रोत सुनिश्चितताका लागि संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट नौ करोड ९२ लाख, ससर्त अनुदान चालुतर्फ १८ करोड, राजस्व बाँडफाँडतर्फ आठ करोड ७७ लाख रुपियाँ अनुमान गरिएको छ । यसैगरी गण्डकी प्रदेश सरकारको वित्तीय समानीकरणबाट एक करोड २१ लाख, राजस्व बाँडफाँडबाट ९० लाख, सडक बोर्डबाट २३ लाख, आन्तरिक आयबाट १५ करोड, संघीय समपूरक अनुदानबाट ७० लाख, विशेष अनुदानबाट ४० लाख, सामाजिक सुरक्षा भत्ताबापत १३ करोड, प्रदेश समपूरक अनुदान ६० लाख, विशेष अनुदान ४० लाख तथा नागरिक साझेदारीबाट दुई करोड रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ ।
बजेटमा वडागत विनियोजनतर्फ वडा नम्बर १ का लागि ५० लाख ७५ हजार, वडा नम्बर २ का लागि ५५ लाख ३१ हजार, वडा नम्बर ३ का लागि ४५ लाख, वडा नम्बर ४ का लागि ५० लाख ४७ हजार, वडा नम्बर ५ का लागि ४६ लाख, वडा नम्बर ६ का लागि ५१ लाख र वडा नम्बर ७ का लागि ५० लाख रुपियाँ विनियोजन गरिएको छ । यसैगरी विषयगत क्षेत्रतर्फ आर्थिक विकासमा चार करोड १८ लाख, सामाजिक विकासमा ३३ करोड १६ लाख ८३ हजार, पूर्वाधार विकासतर्फ २५ करोड ३९ लाख ६८ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनमा ८७ लाख र कार्यालय सञ्चालन तथा सुशासनतर्फ १० करोड ७१ लाख रुपियाँ विनियोजन गरिएको छ ।
म्याग्दे गाउँपालिकाले यसअघि दोस्रो आवधिक योजनाको दीर्घकालीन सोच ‘आत्मनिर्भर समृद्ध म्याग्देको आधार, मानव विकास कृषि पर्यटन र पूर्वाधार’ को लक्ष्यलाई साकार पार्ने अठोटसहित नीति तथा कार्यक्रम पारित गरिसकेको छ । आगामी पाँच वर्षभित्र गाउँपालिकालाई स्मार्ट र नगरोन्मुख बनाउन लागत साझेदारीमा भवन निर्माण तथा सडक कालोपत्रे गर्ने लक्ष्य लिइएको छ । गाउँपालिकाले एक घर एक व्यवसाय तथा स्वरोजगार कार्यक्रम, अति गरिब विपन्न आवास निर्माण योजना, ढल, सडक सरसफाइ, खानेपानी, गुणस्तरीय शिक्षा, स्वास्थ्यको उच्चतम प्रयोग, मानव संसाधन विकास, सूचना प्रविधिको प्रयोग, उत्पादन तथा उत्पादकत्व वृद्धिमा जोड दिई जलवायु र वातावरणमैत्री दिगो विकास गर्ने नीति लिएको छ ।
नीति तथा कार्यक्रममार्फत गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले हालको पदाधिकारीको बाँकी रहेको करिब एक वर्षको कार्यकालमा समृद्धिको अभियान सञ्चालन गर्ने र खर्च कटौतीका लागि अनावश्यक चालु खर्च नियन्त्रण गर्ने प्रस्ताव गर्नुभएको छ । जसअन्तर्गत सबै प्रकृतिका भ्रमण खर्च, अनावश्यक गोष्ठी, तालिम, सामग्री खरिद, ओभर स्टाफिङ तथा करार कार्यमा रोक लगाउने गरी दीर्घकालीन नीति अघि सारिएको छ ।

उथल पुथल 









