पोखरा, असार ८ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अपराध अनुसन्धानमा खटिने प्रहरी अधिकृतले व्यवस्थित एवं प्रमाणमुखी न्यायिक प्रक्रियामा निष्पक्ष र पूर्ण व्यावसायिक भई कार्य सम्पादन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालको आयोजना तथा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको समन्वयमा आइतबार आयोजित एक दिवसीय ‘प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी’ मा उहाँले अपराध अनुसन्धानलाई वैज्ञानिक रूपमा विकास गर्न प्रदेश सरकार सधैँ तत्पर रहेको तर सङ्घ सरकारसँग बाझिएका कानुनी जटिलताले सबै प्रयास सार्थक हुन नसकेको उल्लेख गर्नुभयो ।

यसै गरी नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठोरले अनुसन्धानमा प्रयोग भएका नवीनतम प्रक्रिया, प्रविधि र कलालाई प्रयोग गर्न सकेमा अपराध अनुसन्धानमा सफलता प्राप्त गर्न सकिने बताउनुभयो ।
गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनिले कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासे, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङ, गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेल, नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, उच्च सरकारी वकिल कार्यालय पोखराका उपन्यायाधिवक्ता स्वतन्त्र न्यौपानेलगायतले प्रविधिमैत्री अपराध अनुसन्धानमा जोड दिँदै जिल्ला सरकारी वकिल कार्यालय, उच्च अदालत र प्रहरीमा एउटै अभिलेखीकरण प्रणालीको विकास हुनुपर्नेमा जोड दिएका थिए । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दीपेन्द्र जिसीले गण्डकी प्रदेशमा अपराध अनुसन्धानलाई नयाँ दिशानिर्देश गर्न गोष्ठीले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
साभार:गोरखापत्र अनलाईन

उथल पुथल 









