काठमाडौं।
लागुऔषध नियन्त्रण ब्यूरोले काठमाडौँको टोखा र चन्द्रागिरिमा फार्महाउसको आवरणमा लागुऔषधको ठूलो कारोबार गरिरहेको अवस्थामा १३ जना कारोबारीलाई नियन्त्रणमा लिएको छ।
भारतबाट अवैध रूपमा लागुऔषध खरिद गरी ल्याउने र आफ्नो फार्महाउस परिसरको जमिनमा खाडल खनी सुरक्षित रूपमा लुकाई मागअनुसार बजारमा बिक्री वितरण गर्ने गरेको विशेष सूचनाका आधारमा प्रहरीले उक्त स्थानमा छापा मारेको थियो। लामो समयदेखि यसरी गैरकानूनी धन्दा चलाउँदै आएका गिरोहलाई पक्राउ गर्न सफल हुनुलाई लागुऔषध नियन्त्रणमा ठूलो सफलता मानिएको छ।
पक्राउ पर्नेमा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका-२ ठेगाना भएका वर्ष २२ को निमा तामाङ, सोही स्थानका वर्ष २३ को विक्रम लामा, रुपन्देहीको बुटवल उपमहानगरपालिका-७ ठेगाना भएका वर्ष २९ को सागर बुढाथोकी, भक्तपुरको मध्यपुर ठिमी नगरपालिका- ४ ठेगाना भएका वर्ष ४५ को उद्धव श्रेष्ठ, भक्तपुरकै चाँगुनारायण नगरपालिका-७ ठेगाना भएका वर्ष २७ को विकास काफ्ले, सिन्धुलीको फिक्कल गाउँपालिका- ४ ठेगाना भएका वर्ष ३२ की माया विशखे र कालिकोटको पलता गाउँपालिका- ३ ठेगाना भएका वर्ष २६ को खड्क रोकाया र वर्ष २७ की कमला थामी रहेका छन्।
यस्तै, बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका-१ ठेगाना भएका वर्ष २९ की मेनुका थामी, बाराको जितपुर सिमरा उपमहानगरपालिका-७ ठेगाना भएका वर्ष ३४ को प्रदीप भन्ने सञ्जय साह सोनार, पर्साको बहुदरमाई नगरपालिका-९ ठेगाना भएका वर्ष ३६ को प्रमोद प्रसाद कलवार, काठमाडौँ महानगरपालिका-१६ का वर्ष ४० की मोनिका श्रेष्ठ र वडा न. ७ ठेगाना भएकी वर्ष २९ की सुशिला महर्जनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले उनीहरूका साथबाट २ लाख ९ हजार क्याप्सुल ट्रामाडोल, २ हजार ४ सय एम्पुल बुप्रेनोर्फिन, डाईजेपाम र फेनारगन बरामद गरेको छ। साथै, कारोबारबाट आर्जित ७ लाख ८७ हजार ५ सय रुपैयाँ नगद र विभिन्न कम्पनीका २८ थान मोबाइलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका प्रतिवादीहरूमाथि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिएका छन्।

उथल पुथल 









