खेलको ७औँ मिनेटमै यासिन आएरीले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए। विशेष संयोगका रूपमा रहेको उक्त गोलमा उनले आफ्ना बुवाको जन्मभूमि ट्युनिसियाविरुद्ध भएकाले निकै संयमित र शान्त ढंगले खुसी मनाएका थिए। खेलको २८औँ मिनेटमा अलेक्सजेन्दर इजाकले गोल गर्दै अग्रता दोब्बर बनाए। यद्यपि, ४२औँ मिनेटमा ट्युनिसियाका ओमार रेकिकले एक गोल फर्काउँदै खेलमा फर्कने सङ्केत दिएका थिए।
दोस्रो हाफमा थप आक्रामक देखिएको स्वीडेनका लागि ५९औँ मिनेटमा भिक्टोर ग्योकर्सले गोल थपेपछि खेल ३-१ को स्थितिमा पुग्यो। खेलको ८८औँ मिनेटमा म्याटियन स्यानवर्गले गोल गरे। सुरुमा फिल्ड रेफ्रीले उक्त गोललाई अफसाइड सङ्केत गरे पनि ‘भिजुअल असिस्टेन्ट रेफ्री’ (भीएआर) को मद्दतले त्यसलाई गोलको मान्यता दिइयो। खेलको इन्जुरी समयमा यासिन आएरीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौँ गोल गर्दै स्वीडेनको ५-१ को सहज जित पक्का गरे।
यसैबीच, विश्वकपका अन्य खेलहरूमा पनि प्रतिस्पर्धा जारी छ। ‘ग्रुप ई’ अन्तर्गतको खेलमा जर्मनीले क्युरासाओविरुद्ध ७-१ को एकपक्षीय जित निकालेको छ। त्यस्तै, समूह ‘एफ’ को अर्को खेलमा जापान र नेदरल्यान्ड्स २-२ गोलको बराबरीमा रोकिएका छन् भने आइभरीकोस्टले इक्वेडरलाई १-० गोल अन्तरले पराजित गरेको छ।

उथल पुथल










