खोटाङ, जेठ ३० गते । किरात समुदायको महान पर्व साकेला (उभौली) २०८३ माझ किरात खोटाङमा हर्षोल्लासका साथ समापन गरिएको छ ।
खेतीपाती सप्रियोस, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना सहित पितृ तथा भूमिको पूजाआजा गरी महिना दिनसम्म मनाइने साकेला (उभौली) जेठ ३० गते वृहत साकेला प्रदर्शनी गर्दै समापन गरिएको हो ।
किरात राई यायोक्खा खोटाङ र किरात सेवा समाज दिक्तेलको आयोजनामा जिल्ला सदरमुकाम दिक्तेलस्थित माटिकोरे खेल मैदानमा शनिबार वृहत साकेला सिली प्रदर्शनी गर्दै यो वर्षको साकेला उभौली पर्वको समापन गरिएको यायोक्खा अध्यक्ष युगसन किरातले बताए।
मौलिक भेषभुषामा सजिएका किरात समुदायका बालबालिकादेखि युवायुवती र वृद्धवृद्धामसम्मको उपस्थितिमा वृहत साकेला सिली प्रदर्शनी गर्दै किरात समुदायको महान पर्व साकेला (उभौली)लाई जीवन्त बनाउदै समापन गरेका हुन् । साकेला पर्व अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णीमा र उठाउने बेला मङ्सिरे पूर्णीमाको अवसर पारेर वर्षमा दुई पटक मनाउने गरिन्छ ।
किरात समुदायको घनाबस्ती रहेको माझ किरात खोटाङका हरेक गाउँ तथा बस्तीमा साकेला सिली प्रदर्शन गर्दै एक महिनासम्म उभौली पर्व मनाउने गरिन्छ । तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूिमको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा हात र खुट्टाले सिली टिप्दै गोलो घेरमा साकेला नाच्ने गरिन्छ । उभौलीको अवसरमा किरात राईहरुको ऐतिहासिक थलो तुवाचुङ जायाजुङ, रुपाकोट, मेरुङ, मझुवागढी, जन्तेढुङ्गा लगायतका धार्मिक तथा पर्यटकीयस्थलमा र विभिन्न साकेला थानमा साकेला नाचिन्छ ।
चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल-झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनाका साथ खुला आकाशमुनि संयुक्त रूपमा नाचगान गरी हर्षोल्लासपूर्वक साकेला नाचिन्छ । हात-खुट्टाको चालले पङ्तिबद्ध रूपमा नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएको जस्ता कृषि कार्य प्रदर्शन गर्ने गरिएको यायोक्खा अध्यक्ष युगसन किरातले बताए।
साकेला पर्व पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किरात समुदायको बसोबास रहेको ठाउँमा साकेला नाँच नाँच्दै धुमधामकासाथ मनाउने गरिएको छ ।

उथल पुथल 









