दमौली,तनहुँ।तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराबाट एक दुर्लभ चरीबाघ (लियोपार्ड क्याट) को बच्चाको उद्धार गरिएको छ । जंगलमा माउबाट छुटिएर स्थानीयको बारीमा आइपुगेको उक्त बच्चालाई स्थानीय बासिन्दाले देखेपछि डिभिजन वन कार्यालय तनहुँलाई खबर गरेका थिए ।
स्थानीयको सूचनाका आधारमा वन कार्यालयको टोलीले सो चरीबाघको बच्चालाई एक साताअघि नै उद्धार गरी कार्यालयमा ल्याएर संरक्षण गरिरहेको छ । संरक्षित वन्यजन्तुको सूचीमा पर्ने चरीबाघको उक्त बच्चा निकै सानो छ । डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले उद्धार गरिएको बच्चा एक महिनाभन्दा कम उमेरको भएकाले तत्काल वनमा छाड्न नसकिएको जानकारी दिए। अहिले नै प्राकृतिक बासस्थानमा छाड्दा आफैँ सिकार गरेर खान नसक्ने र मर्ने जोखिम भएकोले उद्धार गरिएको हो । डिभिजन प्रमुख रानाभाटले भने , “त्यसैले अहिले वन कार्यालयमै मासु खुवाएर यसको हेरचाह गरिरहेका छौँ ।”
कार्यालयका अनुसार यो चरीबाघको बच्चालाई केही ठुलो नहुन्जेल र आफैँ सिकार गर्न सक्ने सक्षम नबनुन्जेलसम्मका लागि कास्कीको पोखरास्थित पचभैया प्राणी उद्यान केन्द्र (जुलोजिकल पार्क) मा पठाउने तयारी भइरहेको छ ।

सुशील लामगादे बि.क. 









