दमौली,तनहुँ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित बनाउन देशभर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका गरी करिब ३ लाख ३४ हजारभन्दा बढी सुरक्षाकर्मी मतदान केन्द्र तथा संवेदनशील क्षेत्रमा खटिएका थिए। उनीहरूको संयम, अनुशासन र उच्च मनोबलका कारण निर्वाचन सफलतापूर्वक सम्पन्न भयो।
तर निर्वाचन सफल बनाउन पर्दा पछाडि उनीहरूले भोगेका शारीरिक र मानसिक कठिनाइ भने कम चर्चामा आएका छ। निर्वाचन अवधिमा हिमाली दुर्गम जिल्लादेखि तराईका सीमावर्ती क्षेत्रसम्म सुरक्षाकर्मीहरू दिनरात खटिए। धेरै ठाउँमा सवारी साधन नपुग्ने भएकाले मतदान सामग्री बोकेर घण्टौँ पैदल यात्रा गर्नुपर्यो।
कतिपय मतदान केन्द्र उच्च हिमाली क्षेत्रमा रहेकाले अक्सिजनको कमी, कडा चिसो र प्रतिकूल मौसमसँग जुध्दै उनीहरूले ड्युटी पूरा गरे। “मतदान केन्द्रमा ४८ घण्टासम्म लगातार खटिनुपरेको थियो। खाना समयमै नपुग्दा भोकै बस्नुपर्ने अवस्था आयो। कतिपय ठाउँमा पानीसमेत अभाव थियो। तर नागरिकको मताधिकार सुरक्षित राख्नु नै हाम्रो जिम्मेवारी भएकाले सबै कठिनाइ सहेर ड्युटी पूरा गरियो। दुर्गम क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूले जोखिमपूर्ण यात्रा पनि गर्नुपर्यो। ” सुरक्षाकर्मिहरुको भनाई रहेको थियो।
निर्वाचनका क्रममा विभिन्न दुर्घटना र स्वास्थ्य समस्याका कारण दर्जनौँ सुरक्षाकर्मी तथा निर्वाचन कर्मचारीले ज्यान गुमानुपर्ने अवस्था रहेको थियो। रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकसहित केही व्यक्तिको मृत्यु भएको थियो।
लामो समय घरपरिवारबाट टाढा रहनु पनि सुरक्षाकर्मीको अर्को पीडा हो। निर्वाचन जस्ता संवेदनशील जिम्मेवारीका कारण उनीहरूले चाडपर्व, पारिवारिक कार्यक्रम र बालबालिकाको हेरचाहमा सहभागी हुन सक्दैनन्।
कर्तव्य पूरा गर्नु नै पहिलो जिम्मेवारी भएकाले परिवारलाई समय दिन सकिँदैन। निर्वाचन आयोग र गृह मन्त्रालयले सुरक्षाकर्मीहरूको योगदानको प्रशंसा आवश्यक रहेको छ । उच्चस्तरीय सुरक्षा समितिले निर्वाचनलाई चुनौतीरहित र व्यवस्थित रूपमा सम्पन्न भएको निष्कर्ष निकालेको छ।
तर लोकतान्त्रिक प्रक्रियालाई सुरक्षित बनाउन उनीहरूले गरेका त्याग र कष्ट भने अझै पर्याप्त रूपमा मूल्याङ्कन हुन सकेको छैन। विश्लेषकहरूका अनुसार निर्वाचन सफल बनाउन सुरक्षाकर्मीहरूले गरेको योगदानलाई राज्यले उचित सम्मान दिन आवश्यक छ।
पर्याप्त बीमा, स्वास्थ्य सेवा, मनोवैज्ञानिक परामर्श र जोखिम भत्ता जस्ता सुविधा सुनिश्चित गर्न सके मात्र उनीहरूको मनोबल दीर्घकालसम्म कायम राख्न सकिन्छ। लोकतन्त्रको आधार मानिने निर्वाचन सुरक्षित बनाउन अग्रपंक्तिमा खटिएका यी सुरक्षाकर्मीहरूको त्यागले नै नागरिकको मताधिकार सुरक्षित भएको छ। उनीहरूको परिश्रम र समर्पण लोकतान्त्रिक व्यवस्थाको महत्वपूर्ण आधार मानिन्छ।

सुशील लामगादे बि.क. 









