बन्दिपुर।
प्रेम दिवस (भ्यालेन्टाइन डे) को अवसर पारेर तनहुँको बन्दीपुरमा आयोजित नेपथ्य ब्यान्डको लाइभ कन्सर्टले सांगीतिक उत्सवको रौनक थपेको छ । बन्दीपुर गाउँपालिका–४ स्थित टुडिखेलमा सम्पन्न उक्त कार्यक्रममा संगीतप्रेमीहरूको उल्लेख्य भीड लागेको थियो ।
साँझ ढल्दै जाँदा टुडिखेलतर्फ उक्लने दर्शकहरूको लर्को बढ्दै गएको थियो । साथीभाइ, परिवार तथा प्रेम जोडीहरू नेपथ्यको सांगीतिक यात्रा अनुभव गर्न एकै ठाउँमा जम्मा भएका थिए । कार्यक्रम सुरु हुनासाथै मैदान दर्शकले भरिभराउ बनेको थियो । उत्साह, उमंग र प्रतीक्षाको मिश्रित भावना स्पष्ट देखिन्थ्यो ।
नेपालको लोकप्रिय लोक–रक ब्यान्ड नेपथ्यका भोकल अमृत गुरुङले आफ्ना हिट गीतहरू प्रस्तुत गरेका थिए । ‘रेशम ‘तालको पानी’, ‘छेक्यो छेक्यो’ लगायतका कालजयी गीतहरूमा दर्शकहरू झुम्मिएका थिए । ताली, हुटिङ र सामूहिक गायनले वातावरण थप जीवन्त बनेको थियो । युवायुवतीदेखि सबै उमेर समूहका दर्शकहरूले भरपुर साथ दिएका थिए ।
प्रणय दिवसलाई लक्षित गरी आयोजित यो कन्सर्टले बन्दीपुरको पर्यटन प्रवर्द्धनमा पनि उल्लेखनीय योगदान पु¥याएको छ । विभिन्न जिल्लाबाट आएका आन्तरिक पर्यटकहरूका कारण होटल, लज तथा गेस्टहाउसहरू पूर्ण रूपमा भरिएका छन् । स्थानीय व्यवसायीहरूले यसबाट आर्थिक लाभ प्राप्त गरेको बताएका छन् ।
कार्यक्रमका स्थानीय संयोजक रवि श्रेष्ठले भव्यतापूर्वक सम्पन्न भएको यो कन्सर्टले बन्दीपुरलाई सांगीतिक तथा सांस्कृतिक केन्द्रका रूपमा थप स्थापित गर्ने बताए । स्थानीय तह र आयोजकहरूले यस्ता कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने विश्वास व्यक्त गरेका छन् ।
नेपथ्यको यो प्रस्तुति बन्दीपुरको प्राकृतिक सौन्दर्यसँग मिसिएर अविस्मरणीय साँझ बनेको छ । संगीत र प्रेमको यो संयोजनले बन्दीपुरमा नयाँ ऊर्जा थपेको छ ।

सुशील लामगादे बि.क. 









