काठमाडौँ ।‘एआई’ प्रविधिमार्फत किसानलाई डिजिटल कृषि सल्लाह उपलब्ध गराउने उद्देश्यले कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (एनएएएमपी) र कनेक्ट किसान प्रालिबीच सम्झदारीपत्रमा हस्ताक्षर भएको छ ।
एनएएएमपीका कार्यक्रम निर्देशक हिक्मतकुमार श्रेष्ठ र कनेक्ट किसानका निर्देशक राजन दाहालले सम्झदारीपत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार ‘डिजिटल प्लेटफर्म’मार्फत किसानलाई कृषिसम्बन्धी समस्या समाधानमा सहयोग पुग्ने जनाइएको छ । कनेक्ट किसानले विकास गरेको ‘भ्वाइस बेस’ र ‘टेक्स्ट बेस एआई एडभाइजरी’ प्रणालीले खेतबारीमै आवश्यक सल्लाह उपलब्ध गराउनेछ। किसानले मल व्यवस्थापन, बजार पहुँच, रोग–कीरा नियन्त्रणलगायत विषयमा तत्काल सुझाव पाउन सक्नेछन् ।

सम्झौता कार्यक्रममा निर्देशक श्रेष्ठले किसानलाई डिजिटल माध्यमसँग जोडेर समस्या समाधानमा सहयोग पुर्याउने लक्ष्यसहित सहकार्य गरिएको जानकारी दिए ।
उनले भने, ‘किसानले आफ्नो खेतबारीमा जुनसुकै समस्या आए पनि तत्काल समाधान पाउन सक्नेछन् । साथै, ठूला वा जटिल समस्याहरूको लागि प्रविधिक र अनुसन्धान टोलीले पनि सहयोग गर्नेछ ।’
उनका अनुसार बजार पहुँचको अभाव, मल संकट र रोग व्यवस्थापनजस्ता नीतिगत चुनौतीसमेत एआई प्रणालीमा डेटा रूपमा सङ्कलन गरिनेछ। उक्त विवरणका आधारमा दीर्घकालीन समाधानका योजना तयार पारिने उनले बताए।
कनेक्ट किसानका निर्देशक दाहालले भारतमा प्रविधिमैत्री किसानले एआई प्रयोगमार्फत उत्पादन वृद्धि गरिरहेको उल्लेख गर्दै नेपालमा पनि यस प्रविधिले सहयोग पुग्ने बताए।
उनले भने, ‘हाम्रो एआई प्रणालीले किसानलाई व्यक्तिगत कृषि सल्लाह दिन सक्षम छ ।’
उनका अनुसार किसानले नीतिगत वा बजारसम्बन्धी समस्या तथा रोग–कीरासम्बन्धी विवरण एआई प्रणालीमार्फत पठाउन सक्नेछन्। सङ्कलित जानकारी एनएएएमपीले आवश्यक कदम चाल्न प्रयोग गर्नेछ।
सम्झौतामार्फत किसानका समस्या दीर्घकालीन रूपमा समाधान गर्ने लक्ष्य राखिएको छ।
साभार:नयाँ पेज

उथल पुथल 









