शिक्षामा फरक अभ्यासका अभियन्ता मन्जिल राना तनहुँ–१ बाट प्रतिनिधि सभा उम्मेदवार

तनहुँ।

शिक्षा क्षेत्रमा फरक र उदाहरणीय अभ्यासमार्फत परिचित मन्जिल राना कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टीका तर्फबाट तनहुँ क्षेत्र नम्बर–१ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका छन्। आगामी वि.सं. २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै राना हाल घरदैलो अभियानमा व्यस्त रहेका छन्।

विगत १५ वर्षदेखि तनहुँ जिल्लाको व्यास नगरपालिका–११ मा अवस्थित माया युनिभर्स एकेडेमी विद्यालय सफलतापूर्वक सञ्चालन गर्दै आएका रानाले आर्थिक रूपमा कमजोर तथा विपन्न परिवारका बालबालिकालाई लक्षित गर्दै शिक्षा क्षेत्रमा फरक अभ्यासको सुरुवात गरेको बताए। विद्यालयमा परम्परागत मासिक शुल्क प्रणालीको सट्टा श्रम आदान–प्रदानको व्यवस्था लागू गरिएको बताए।

उनका अनुसार उक्त प्रणालीअन्तर्गत विद्यार्थीका अभिभावकहरूले नगद शुल्क तिर्नुको सट्टा महिनामा दुई दिन विद्यालयका लागि श्रमदान गर्दै आएका छन्। अभिभावकहरूले विद्यालय परिसर सरसफाइ, कृषि उत्पादन, निर्माण तथा मर्मतसम्भारका काम, साथै ब्रासलेट बनाउने जस्ता हस्तकला सामग्री उत्पादनमा सहयोग गर्दै आएको बताए।

अभिभावकहरूको श्रमबाट उत्पादन गरिएका कृषि उपज तथा हस्तकलाका सामग्री विद्यालय सञ्चालनमा आर्थिक सहयोगका रूपमा प्रयोग हुँदै आएको उनले बताए। यसले विद्यालय सञ्चालनमा सहयोग पुगेको मात्र नभई अभिभावक र विद्यालयबीचको सम्बन्ध अझ सुदृढ बनेको पनि रानाको भनाइ छ।

घरदैलो अभियानका क्रममा रानाले शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र सामाजिक न्यायलाई प्राथमिक एजेन्डाका रूपमा अघि सारेका छन्। शिक्षा र सामाजिक सेवामा देखिएको आफ्नो अनुभवलाई संसदमार्फत नीतिगत तहमा पुर्‍याउने लक्ष्यसहित उम्मेदवारी दिएको उनले बताए।