आन्तरिक छलफलमा व्यस्त उम्मेदवार ढकाल

तनहुँ।

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपा तनहुँ क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा उम्मेदवार विद्यानाथ ढकाल पार्टीको आन्तरिक छलफल तथा रणनीति निर्माणमा व्यस्त रहेका छन्।

नेपाली कम्युनिष्ट पार्टी तनहुँका अध्यक्ष सूर्यबहादुर गौलीका अनुसार ढकाल हाल पार्टीका आन्तरिक बैठकमा सहभागी हुँदै निर्वाचन क्षेत्रका अगुवा कार्यकर्ता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिरहेका छन्। निर्वाचनलाई लक्षित गर्दै क्षेत्रगत अवस्थाको समीक्षा, जनचासोका विषय संकलन तथा चुनावी रणनीति तय गर्न छलफलहरू तीव्र बनाइएको उनले बताए।

अध्यक्ष गौलीका अनुसार ढकालले व्यास नगरपालिका वडा नम्बर १ देखि ४ तथा ७ देखि १४ सम्मका वडा , भानु नगरपालिका, बन्दिपुर गाउँपालिका, देवघाट गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाका स्थानीय नेता तथा कार्यकर्तासँग निरन्तर छलफल गरिरहेका छन्। ती भेटघाट तथा अन्तरक्रियाबाट प्राप्त सुझावलाई चुनावी रणनीतिमा समेट्ने तयारी भइरहेको पार्टी स्रोतले जनाएको छ।

ढकालले तनहुँको समृद्ध भविष्यका लागि सही रोजाइ आवश्यक रहेको उल्लेख गर्दै मतदातासँग प्रभावकारी रूपमा आफ्नो पक्षमा मत माग्न ठोस रणनीति तयार भइरहेको बताएका छन्। उनले राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको रक्षा, सुशासन, सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण तथा सुसंस्कृत समाज निर्माणलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। साथै, तनहुँ क्षेत्र नम्बर–१ को समग्र विकासलाई प्राथमिकतामा राखेर सधैँ जनसमुदायसँग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

अनुभव, इमानदारी र विकासप्रतिको स्पष्ट दृष्टिकोण भएका उम्मेदवारलाई जिताउनुपर्ने आवश्यकता औँल्याउँदै ढकालले तनहुँको आवाज संसदसम्म पुर्‍याउने आफ्नो लक्ष्य रहेको बताए। “राजनीति सेवाको माध्यम हो,” भन्दै उनले जनताको अपेक्षा पूरा गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरे।

आगामी निर्वाचनमा आफ्नो चुनाव चिन्ह ‘तारा’ रहेको जानकारी गराउँदै ढकालले सचेत र जिम्मेवार निर्णय गर्दै तारा चिन्हमा मतदान गरी विजयी गराउन मतदातासँग अनुरोध गरेका छन्।