प्रहरी सेवालाई थप पारदर्शी र जनमुखी बनाइएको छ: प्रहरी उपरीक्षक कार्की

दमौली,तनहुँ।

जिल्ला प्रहरी कार्यालय तनहुँले पौष महिनामा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा सक्रियता बढाएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले नियमित गस्ती र निगरानी तीव्र बनाइएको जानकारी दिए। चोरी, ठगी र घरेलु हिंसामा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको उनले बताए।

लागू औषध ओसारपसार नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ। विद्यालयस्तरमा सञ्चालन गरिएका सचेतना कार्यक्रमले सामाजिक सुरक्षामा सकारात्मक प्रभाव पारेको कार्कीको भनाइ छ।

सडक सुरक्षाका लागि ट्राफिक जाँच कडा बनाइएको छ। नियम उल्लङ्घन गर्ने सवारी चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ। दुर्घटना न्यूनीकरणका लागि चालक र यात्रु लक्षित सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको छ।

समुदायसँगको सहकार्यमा टोल विकास संस्था र आमा समूहसँग अभिमुखीकरण गरिएको छ। महिला र बालबालिका सुरक्षामा केन्द्रित कार्यक्रम अघि बढाइएको कार्कीले बताए।

नागरिक गुनासो सुनुवाइ प्रणालीमा सुधार गरिएको छ। प्रहरी सेवालाई थप पारदर्शी र जनमुखी बनाइएको दाबी जिल्ला प्रहरी कार्यालयले गरेको छ।