छैठौं आदिवासी जनजाति तनहुँ सांस्कृतिक तथा पर्यटन महोत्सवका लागि स्टल निर्माण सुरु

दमौली,तनहुँ।

छैठौं आदिवासी जनजाति तनहुँ सांस्कृतिक तथा पर्यटन महोत्सवलाई लक्षित गर्दै स्टल निर्माणको कार्य सुरु गरिएको छ। आगामी पुस २४ गतेदेखि माघ ५ गतेसम्म सञ्चालन हुने महोत्सवका लागि आवश्यक तयारीलाई तीव्रता दिइएको हो।

मुल समारोह समितिका संयोजक सनम तामाङका अनुसार महोत्सवस्थलमा स्टल निर्माणको काम अघि बढाइएको छ। उनले महोत्सवलाई व्यवस्थित, आकर्षक र दर्शकमैत्री बनाउन विभिन्न खालका स्टलहरू निर्माण गरिने जानकारी दिए।

महोत्सवमा आदिवासी जनजातिका मौलिक कला, संस्कृति, परम्परा, भेषभूषा, खानपान तथा स्थानीय उत्पादनहरूको प्रदर्शनी गरिनेछ। साथै सांस्कृतिक कार्यक्रम, सांगीतिक प्रस्तुति र पर्यटन प्रवर्द्धनसम्बन्धी गतिविधिहरू समेत समावेश गरिने आयोजकले जनाएको छ।

महोत्सवमा आइफिल टावर, लण्डन ब्रिज जस्ता संरचनात्मक आकर्षण, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, मौलिक सांस्कृतिक झाँकी तथा विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँका सचिव जिवन गुरुङ्गले जानकारी दिए ।

स्थानीय पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक पहिचान संरक्षण गर्ने उद्देश्यले आयोजना गरिने यस महोत्सवले जिल्लाको आर्थिक तथा सामाजिक गतिविधिमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।