‘संघीय सरकारले दरबन्दी नदिँदा सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा अवधारणा व्यवहारिक नरहने’ नगर प्रमुख न्यौपाने

दमौली,तनहुँ

दमौलीस्थित सत्यवती माध्यमिक विद्यालय स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा मंगलबार आयोजित स्वर्ण जयन्ती महोत्सवको मुख्य समारोह मंगलबार  सम्पन्न भएको छ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा नगर प्रमुख न्यौपानेले सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा व्यवहारिक रूपमा लागू हुन नसक्नुको मुख्य कारण संघीय सरकारले मागअनुसार शिक्षक दरबन्दी उपलब्ध नगराउनु रहेको स्पष्ट पार्नुभयो। विद्यार्थी संख्याको अनुपातमा दरबन्दी व्यवस्था गर्न संघीय सरकारसँग निरन्तर दबाब दिँदै आएको न्यौपानेको भनाइ थियो।

“संविधानले निःशुल्क शिक्षा सुनिश्चित गरेको छ, तर संघीय सरकारले आवश्यक दरबन्दी नदिँदा त्यो व्यवहारमा लागू हुन सकेको छैन,” नगर प्रमुख न्यौपानेले भने , “शिक्षक अभावकै कारण सामुदायिक विद्यालयमा निःशुल्क र गुणस्तरीय शिक्षा चुनौती बनेको छ।”

सत्यवती माध्यमिक विद्यालयको भौतिक पूर्वाधार विस्तारमा समेत गम्भीर समस्या रहेको उल्लेख गर्दै उहाँले ठाउँ अभावका कारण नजिकका विद्यालय गाभ्ने प्रयास गरिए पनि स्थानीयको असहमतिका कारण सफल हुन नसकेको जानकारी दिए। नमुना विद्यालयका रूपमा विकास गर्न कम्तीमा १५ रोपनी जमिन आवश्यक पर्ने भए पनि विद्यालयसँग हाल चार रोपनी मात्र लालपूर्जायुक्त जग्गा रहेकाले समस्या जटिल बनेको नगर प्रमुख न्यौपानेको भनाइ थियो।

नगर प्रमुख न्यौपानेले भोगचलनमा रहेको जग्गाको सिफारिस गरी विद्यालयलाई नमुना विद्यालयको सूचीमा समावेश गरिएको बताउँदै सत्यवतीको शैक्षिक गुणस्तर राम्रो भएकै कारण विद्यार्थी भर्नाको चाप अत्यधिक बढेको उल्लेख गरे। “क्षमता र स्थानको अभावका कारण भर्ना हुन नपाएर फर्किनु परेका विद्यार्थीलाई समेत भर्ना गरिदिन आग्रह आउँछ,” न्यौपानेले बताए।

 

समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए। विद्यालयको प्रगति प्रतिवेदन प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले प्रस्तुत गरेका थिए।