आदिवासी जनजातिसमुहको संस्कृति पहिचान,जगेर्ना र संग्रहालय निर्माण निम्ति दमौलीमा ‘छेठौं आदिवासी जनजाति महोत्सव’ हुदैँ

दमौली,तनहुँ

नेपाली मौलिक कला र संस्कृतिको संरक्षण गर्दै तनहुँमा एउटा ऐतिहासिक सांस्कृतिक केन्द्र निर्माण गर्ने संकल्पका साथ आगामी पुस २४ गतेदेखि छैठौं ‘आदिवासी जनजाति सांस्कृतिक महोत्सव’ आयोजना हुने भएको छ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँले सोमबार दमौलीमा पत्रकार सम्मेलन गरी पुस २४ देखि माघ ५ गतेसम्म दमौलीको खुल्ला मैदानमा महोत्सव सञ्चालन हुने जानकारी दिएको छ।

महोत्सव केवल मनोरञ्जन र व्यापारिक प्रयोजनका लागि मात्र नभई यस पटक एउटा महत्वपूर्ण सामाजिक लक्ष्यका साथ अघि बढाइएको छ। महोत्सवबाट संकलन भई बचत भएको रकम व्यास नगरपालिका–१२ गोल्ला, कमलबारीमा निर्माणाधीन ‘भानु–घाँसीग्राम’ भित्र स्थापना गरिने खुला जीवन्त सांस्कृतिक संग्रहालयका लागि खर्च गरिने महासंघले जनाएको छ। लोपोन्मुख परम्पराहरूको संरक्षण र पर्यटकीय प्रवर्द्धन गर्ने उद्देश्यले यो संग्रहालय निर्माणलाई विशेष प्राथमिकता दिइएको हो।

पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै नेपाल आदिवासी जनजाति महासंघ तनहुँका अध्यक्ष सनम तामाङले सबै जातजातिको भाषा, लिपि र संस्कारलाई एउटै थलोमा प्रदर्शन गरी संग्रहालय निर्माणको सपना पूरा गर्न यो महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
त्यस्तै, महासंघका पूर्व अध्यक्ष हरिसिंह गुरुङले आदिवासी जनजातिको पहिचान संकटमा परिरहेका बेला यस्ता महोत्सवले सांस्कृतिक जागरण ल्याउने र भानु–घाँसीग्रामलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न मद्दत पुग्ने उल्लेख गरे।

कार्यक्रममा पत्रकारहरूले राखेका जिज्ञासाको जवाफ दिँदै महासंघका वरिष्ठ उपाध्यक्ष सिद्धान्त थापा मगर, सचिव जीवन गुरुङ र सल्लाहकार यमबहादुर आलेले महोत्सवको व्यवस्थापन र आर्थिक पारदर्शीताका विषयमा प्रष्ट पारे। उनले महोत्सवमा स्थानीय हस्तकला, अर्गानिक कृषि उपज र जातीय मौलिक खानाका परिकारहरूलाई मुख्य आकर्षणका रूपमा समावेश गरिने जानकारी दिए। १० दिनसम्म चल्ने यो महोत्सवले तनहुँको सांस्कृतिक एकतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।