गफ्फार बने तीन वर्षीया बालिकाको अभिभावक

 

दमौली, तनहुँ
म्याग्दे गाउँपालिका १ मान्द्रेकी ३ वर्षीया सन्जु तामाङको शैक्षिक जिम्मेवारी अब सामाजिक अभियान्ता महम्मद गफ्फार सुदिपले सम्हाल्ने भएका छन्।

उनकी आमा बितिसकेकी छिन्। उनका बुबा र हजुरआमाको स्थायी आयस्रोत छैन। यस्तो अवस्थाका कारण गफ्फारले कक्षा १० सम्मको सम्पूर्ण शैक्षिक खर्च व्यहोर्ने निर्णय गरेका छन्।

सन्जु कक्षा ५ सम्म स्थानीय विद्यालयमै पढ्नेछिन्। त्यसपछि उनले रोजेको विद्यालयमा अध्ययन गर्ने व्यवस्था मिलाइने गफ्फारले बताए।

गफ्फारका अनुसार बालिकाका बुबा र हजुरआमा अब वृद्ध अवस्थामा पुगेका छन्। परिवारको आर्थिक अवस्था कमजोर भएकाले बालिकाको अध्ययन सहज बनाउन आवश्यक सबै व्यवस्था आफूले गर्ने प्रतिबद्धता जनाएका छन्।