बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई सुनाइयो मृत्युदण्डको सजाय

काठमाडौँ । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनलले मृत्युदण्ड (फाँसी) को सजाय सुनाएको छ । अदालतको फैसला प्रत्यक्ष रूपमा प्रसारण भइरहेकै बेला यो सजाय सार्वजनिक गरिएको हो ।

फैसलामा हसिनालाई विद्यार्थी आन्दोलनका बेला भएको हत्या घटनाको प्रमुख योजनाकारका रूपमा तोकिएको छ । उनी सत्ताबाट हटेपछि भारतमा आश्रय लिएर बसिरहेकी थिइन् । सोही प्रकरणमा तत्कालीन गृहमन्त्री आसदुज्जमान खान कमाललाई पनि मृत्युदण्ड सुनाइएको छ।

अगस्ट २०२४ मा भएका विद्यार्थी आन्दोलनका क्रममा भएका हत्या तथा हिंसात्मक घटनाको योजना बनाएको आरोपमा उनीहरूलाई दोषी ठहर गरिएको हो । हसिना करिब १५ महिनादेखि भारतमै निर्वासित जीवन बिताइरहेकी थिइन् ।

फाँसीको सजाय घोषणा भएको केही क्षणमै बंगलादेशका विभिन्न भागमा हिंसा सुरु भएको छ । सरकारले उच्च सतर्कता घोषणा गर्दै राजधानीमा मात्र १५ हजारभन्दा बढी प्रहरी परिचालन गरेको छ ।

यो विद्यार्थी आन्दोलनका घटनासम्बन्धी ट्रिब्युनलको पहिलो फैसला हो । फैसला बंगलादेश टेलिभिजनसहित विभिन्न निजी च्यानलमार्फत प्रत्यक्ष प्रसारण भइरहेको छ ।

गत वर्षको आन्दोलनपछि दर्ता भएको उजुरीअनुसार अनुसन्धान सम्पन्न गरी १२ मे मा प्रतिवेदन मुख्य अभियोजन कार्यालयमा बुझाइएको थियो। १३५ पृष्ठको आरोपपत्रसहित ८ हजारभन्दा बढी पृष्ठका कागजात प्रमाणका रूपमा पेश गरिएको थियो । १ जुनमा औपचारिक मुद्दा दर्ता भई सुनुवाइ प्रक्रिया सुरु भएको थियो।

जुलाई १० मा मुद्दा दायर गरिएपछि अगस्ट ४ देखि सुनुवाइ अघि बढाइएको थियो।