चरनका लागि नवलपुरका मौरीपालक दाङतिर

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का मौरीपालक किसानहरू चरनका लागि पश्चिमतर्फ लागेका छन्। नवलपुर तथा चितवनमा तोरीलगायतका अन्नबाली ढिला फुल्ने र किसानहरूले बालीमा विषादीको प्रयोग धेरै गर्ने गरेकाले मौरीपालक किसानहरू मौरी लिएर दाङलगायतका जिल्लातिर लागेका हुन्। दाङमा करिब एक महिनाअघि नै तोरी फुल्ने गर्छ।

images

गैँडाकोट–४ का विजय मौरी फार्मका सञ्चालक तेजबहादुर रानाले बर्सेनि मौरी चराउन जिल्ला बाहिर लैजानुपर्ने बाध्यता भएको बताए। घारलाई ट्रकमा राखेर रातिमा दाङसम्म पुर्‍याउनुपर्ने र यसरी लैजान र ल्याउनमा एक सिजनमै रु एक लाखभन्दा बढी खर्च हुने गरेको उनको गुनासो छ। कात्तिकदेखि फागुनसम्म प्राकृतिक रूपमा फूल फुल्ने भएकाले यो समयमा धेरै मह उत्पादन हुने उनले बताए।

images

images

अर्का मौरीपालक विष्णुप्रसाद भुसालले मह उत्पादन हुने समयमा सरकारले विदेशबाट मह आयात गर्दा स्वदेशी किसानहरू मर्कामा परेको बताएका छन्। उनले नेपाली किसानको मह बिक्री नभएसम्म आयात रोक्न नीतिगत व्यवस्था गर्नुपर्ने माग गरे। प्रयोगशाला परीक्षणमा आयातित मह गुणस्तरहीन पाइएको र उपभोक्ताले पनि गुणस्तरहीन मह उपभोग गर्नुपरेको उनको भनाइ छ।

images

images

नेपालमा १३ हजार ५०० भन्दा बढी किसानले व्यावसायिक रूपमा २ लाख ५० हजारभन्दा बढी मौरीको घारबाट बर्सेनि ५ हजार १८० मेट्रिक टन मह उत्पादन गर्दै आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क छ। यद्यपि पछिल्लो समय मह उत्पादनमा गिरावट आएको भुसालले बताए।