माओवादी केन्द्रको बैठक जारी, बैठक बहिस्कार गरेका शर्माले सुरु गरे प्रगतिशील अभियान

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का निवर्तमान उपमहासचिव जनार्दन शर्माले ‘प्रगतिशील अभियान’ घोषणा गर्ने भएका छन् ।

images

नेकपा नेकपा (माओवादी केन्द्र)ले एकीकृत समाजवादीलगायत ८ साना कम्युनिस्ट पार्टीसँग एकता गर्ने निर्णय गरेपछि फरक राजनीतिक बाटो लिने निर्णय गर्दै नयाँ राजनीतिक यात्राको घोषणा गर्न लागेका हुन् ।

उनले मंगलबार ललितपुरको बखुण्डोलस्थित एक क्याफेमा दिउँसो साढे दुई बजे पत्रकार सम्मेलन गरी ‘प्रगतिशील अभियान’ नामक नयाँ राजनीतिक मोर्चा सार्वजनिक गर्ने तयारी गरेका छन् ।

शर्मासँगै माओवादीका सचिवालय सदस्य राम कार्की पनि उक्त अभियानमा सहभागी हुने भएका छन् । दुवै नेताले वामपन्थी एकता प्रक्रियाको विकल्प स्वरूप नयाँ राजनीतिक धारको सुरुवात गर्ने बताएका छन् ।

images

गत शनिबार बसेको माओवादी केन्द्रको सचिवालय बैठकमा  नेकपा (एकीकृत समाजवादी)सँगको प्रस्तावित एकता प्रतिवेदनमा शर्माले लिखित असहमति जनाएका थिए । असहमति सार्वजनिक गर्दै उनी बैठकमै बाहिरिएका थिए। त्यसपछि आइतबार बसेको अर्को बैठकमा उनी अनुपस्थित रहे। images

शर्माले प्रचण्डले साना दलहरूसँग मिलेर माओवादी केन्द्रको अस्तित्व समाप्त पार्ने प्रयास गरेको आरोप लगाएका छन्। ‘माओवादीलाई अर्को पार्टीसँग मिसाएर विसर्जन गर्ने बाटोमा म जान्नँ,’ उनले भने, ‘म माओवादी आन्दोलनलाई पुनर्जीवित गर्ने प्रगतिशील अभियान सुरु गर्छु।’

 

images

मंगलबार बिहान प्रचण्डसँग भएको भेटमा समेत उनी आफ्नो निर्णयमा अडिग रहेका थिए । स्रोतका अनुसार भेटका क्रममा प्रचण्डले पार्टी एकतापछि हुने महाधिवेशनमा नेतृत्व हस्तान्तरण गर्ने आश्वासन दिएका थिए, तर शर्माले प्रचण्डलाई विश्वास गर्न सकेनन् ।

images

माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक आजै दिउँसो प्रज्ञा भवन कमलादीमा जारी छ । बैठकमा वामपन्थी दलबीच हुने एकता प्रस्ताव अनुमोदन गर्ने तयारी भइरहेको छ ।

images

तर, नेता शर्माले भने माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठकमा नगई छुट्टै पत्रकार सम्मेलन गर्न लागेका हुन्। उनले भने, ‘म पार्टी एकता होइन, विचार र दृष्टिकोणमा आधारित नयाँ अभियान सुरु गर्दैछु ।’

साभार:नयाँ पेज