तनहुँ,दसैं, तिहार, छठ र नेपाल संवतजस्ता ठूला चाडपर्वलाई लक्षित गर्दै तनहुँमा आयोजित अन्तरक्रियामा सरोकारवालाले शान्ति–सुरक्षाको मुख्य आधार समुदायकै सहकार्य हुने निष्कर्ष निकालेका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँ र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले पर्वलाई शान्तिपूर्ण र मर्यादित बनाउन प्रहरी, स्थानीय निकाय र समाजबीच घनिष्ठ सहकार्य अपरिहार्य रहेको बताउनुभयो।
प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले तीन लाखभन्दा बढी जनसंख्या भएको तनहुँमा ५५० मात्र प्रहरी खटिएकाले समुदायबिनै सुरक्षा सम्भव नभएको प्रष्ट पार्नुभयो। उहाँले लागुऔषध दुरुपयोगलाई ठूलो चुनौती भन्दै सचेतना र नागरिक सहभागितामा जोड दिनुभयो।
व्यास नगरपालिकाका वडाध्यक्षहरू, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी र सहभागी सरोकारवालाले अपराध नियन्त्रण, भीड व्यवस्थापन र सुरक्षित वातावरण सिर्जनामा प्रहरी–समुदाय सहकार्यलाई अनिवार्य शर्तका रूपमा लिएका थिए।

सुशील लामगादे बि.क. 









