दमौली, तनहुँ
११ औँ संविधान दिवसको अवसरमा जुनियर रेडक्रस सर्कल, बालमन्दिरले उज्यालो घरलाई नगद रु. २,५०५ सहयोग हस्तान्तरण गरेको छ। शुक्रबार उज्यालो घरमा एक कार्यक्रममा सर्कलका सदस्यहरूले आफ्नै व्यक्तिगत योगदान र खाजा–खर्च कटौती गरी संकलन गरिएको रकम प्रदान गरेका हुन्।
अध्यक्ष सरस्वती डौलियाको अध्यक्षता भएको कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक राजेन्द्र खनालले युवा पुस्ताले सामाजिक सेवामा देखाएको सक्रियता प्रशंसनीय रहेको उल्लेख गर्दै सानो सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गरे। त्यस्तै, शिक्षक नायक गोकुल थापाले संविधान दिवसलाई सामाजिक सेवा र सहकार्यको माध्यमबाट अर्थपूर्ण बनाउन जुनियर रेडक्रसको भूमिकाको प्रशंसा गरे।
सहयोग ग्रहण गर्दै उज्यालो घरका सञ्चालक सागर घिमिरेले रकम बालबालिकाको शिक्षा, पोषण तथा आधारभूत आवश्यकतामा खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गरे।

सुशील लामगादे बि.क. 









