तनहुँको प्रमुख पर्यटकीय गन्तब्य :तनहुँ कालिका

दमौली,तनहुँ

तनहुँको व्यास नगरपालिका-४ स्थित तनहुँ कालिका शहीद शान्ति पार्कलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा रहेको छ ।

सदरमुकाम दमौली बजारस्थित पूर्व र उत्तरमा व्यासमार्ग, पश्चिममा मादी नदी र दक्षिणमा दमौली बजारभित्र पर्ने बागभञ्ज्याङ सामुदायिक वनको करीब आठ हेक्टर क्षेत्रफलभित्र तनहुँ कालिका शहीद शान्ति पार्क पर्दछ।

दमौली बजारबाट एक किलोमिटर दूरीमा पर्ने यस पार्कलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित विभिन्न संरचना निर्माण भएका छन् । यस ठाउँबाट दमौली बजारलगायत आसपासका बस्ती, काहुँडाँडा, मानहुँडाँडा, तनहुँसुर, मिर्लुङकोट, गलेखामकोट लगायतका पर्यटकीयस्थल अवलोकन गर्न सकिन्छ ।

पार्कको वृहत्तर विकासका लागि गुरुयोजनासमेत बनाइएको छ । गुरुयोजनाले पार्कलाई पाँच भागमा विभाजन गरी त्यसभित्र बन्ने संरचनालाई समावेश गरेको छ। दमौली बजारलाई आन्तरिक पर्यटनको केन्द्र बनाउन यस पार्कले महत्वपूर्ण भूमिका खेल्ने सम्भावना रहेको छ।