युरोपका प्रवासी नेपाली बेल्जियममा जुट्दै

काठमाडौँ । ‘सबल प्रवासी, समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मूल नाराका साथ प्रवासी नेपाली मञ्च युरोप महादेश समितिको दोस्रो विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम तय भएको छ ।

आगामी जुन ८ र ९ मा बेल्जियमको ऐतिहासिक सहर आन्त्वर्पेनमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका महासचिव शंकर पोखरेल रहनेछन्। त्यसैगरी, विशेष अतिथिका रूपमा केन्द्रीय सदस्य तथा युरोप–अमेरिका इन्चार्ज घनश्याम पाण्डे र प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समिति अध्यक्ष संजय थापाको उपस्थिति रहनेछ।

दुईदिने यो कार्यक्रममा अन्तर्राष्ट्रिय समिति पदाधिकारी, राष्ट्रिय समितिका अध्यक्ष तथा पदाधिकारी, विभागीय प्रमुख तथा सदस्यहरू, साथै युरोप, अमेरिका लगायत विभिन्न देशहरूबाट करिब ३०० जना सहभागी हुने अपेक्षा गरिएको छ।

कार्यक्रमको संयोजनमा प्रवासी नेपाली मञ्च युरोप महादेश समितिका संयोजक मुक्त गुरुङ तथा सचिव शालिक थपलिया छन्। सचिव थपलियाले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको बताए।

कार्यक्रमको मुख्य उद्देश्य प्रवासी नेपालीहरूबिच संगठनात्मक सुदृढीकरण, राजनीतिक प्रशिक्षण, आपसी समन्वय, र ‘सबल प्रवासी, समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई थप प्रभावकारी रूपमा अगाडि बढाउनु रहेको उनको भनाइ छ ।-रातोपाटी