उथलपुथल संचार सुशील बि.क. दुलेगौँडा, तनहुँ तनहुँको शुक्लागण्डकी नगरपालिका स्थित दुलेगौडा–लिलाचोक सडक खण्डको मर्मत विस्तार आयोजनाको आईतबार नगरपालिकाका र निर्माण कम्पनीका प्रतिनिधिहरुले स्थलगत अवलोकन गरेका छन् ।
नगरपालिकाका तर्फबाट मेयर कृष्णराज पण्डित, उपमेयर खुमबहादुर वि.क.राजु, प्रमुख प्रशसकीय अधिकृत रामचन्द्र लामगादे, नगरपालिकाका प्रमुख प्राविधिक इन्जिनियर तारापति भट्टराईले निर्माण कम्पनी बानियाँ निर्माण सेवाका प्रतिनिधिहरुलाई बर्खा सुरु हुने बेला आएकाले कामको गति बढाउन आग्रह गरेका छन् ।

विश्व बैकको ऋण सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालन गरिएको सहरी शासन र पूर्वाधार योजना अन्तर्गतको यो आयोजनामा हालसम्म जम्मा २३ प्रतिशत काम भएको पाइएको छ । सडक विस्तारको क्रममा देखिएको समस्या तत्काल समाधान गर्न नगरपालिका तयार रहेकाले स्थानीय सरकारसँगको समन्वय प्रभावकारी बनाएर कामको गति बढाउन नगर प्रमुख कृष्णराज पण्डितले निर्माणपक्षलाई निर्देशन दिनुभयो ।
अनुगमनका क्रममा उपमेयर विकले निर्माण कम्पनीका प्रवन्ध निर्देशक ऋषिराज बानियाँलाई कामदार थपेर निर्माणको गति बढाउन सुझाव दिनुभयो । यता बानियाँले तोकिएकै समयमा काम सक्ने गरि लाग्ने बताएका छन् । २७ करोड ३४ लाख ७९ हजार आठ सय ३४ को लागतमा स्तरोन्नति मा ठेक्का सम्झौता भएको यो आयोजना अवको साढे दुई महिनामा सक्नुपर्ने सम्झौता रहेको छ । बर्खाको समयमा विकल्पका रुपमा रहेको गाछेपानी ढोरफिर्दी सडक खण्डमा समेत समस्या हुने भएकाले नागरिक स्तरबाट छिटो काम सकाउन स्थानीय सरकार समक्ष माग बढिरहेको छ । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाबाट सुरु हुने कालोपत्रलेनगरपालिका–८, ९ र १२ वडालाई जोड्ने छ । उक्त खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र हुनेछ । केही भागमा ढलान हुनेछ बिपीचोक, हेल्थपोष्टचोक, पुल्चोक, घारी, तालवेशी, मालेबगर हुँदै लिलाचोकसम्म कालोपत्र हुनेछ ।

उथल पुथल 











