साउथ अफ्रिका आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेटको फाइनलमा प्रवेश

काठमाडौं–  साउथ अफ्रिका आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। क्वालालाम्पुरमा शुक्रबार भएको सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै साउथ अफ्रिकाले फाइनलमा स्थान बनाएको हो।

कंगारु टोलीले दिएको १०६ रनको मध्यम लक्ष्य साउथ अफ्रिकाले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। उसको जितमा जेम्मा बोथाले ३७ र क्याप्टेन कायला रिनेकले २६ रन बनाइन्।
हर्सत गिल र लुकी हेमिल्टनले समान २ विकेट लिएपनि अस्ट्रेलियाको हार भने टार्न सकेनन्।
यसअघि पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ८ विकेट गुमाएर १०५ रनको योगफल तयार पारेको थियो। काइमे ब्रेले ३६ र इल्ला ब्रिस्कोइले नटआउट २७ रन बनाइन्।
मात्र ३ ओभर बलिङ गरेकी एस्लेघ भान वीकले १७ रन खर्चेर ४ विकेट लिइन्।

साउथ अफ्रिकाले अब फाइनलमा भारत र इंल्यान्डबीच अहिले जारी दोस्रो सेमिफाइनलको विजेतासँग आइतबार प्रतिस्पर्धा गर्नेछ।