गोरखा ।
गोरखामा यो वर्ष पनि सुन्तलाको उत्पादन घटेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ गोरखाका अनुसार यो वर्ष पनि जिल्लामा सुन्तलाको उत्पादन घट्ने भएको हो ।
खडेरीका कारण उत्पादन घट्न सक्ने इकाइ प्रमुख पूर्ण ढुङगानाले बताइन् । खडेरी परेका कारण पोहोरको भन्दा यो वर्ष उत्पादन घट्ने भएको हो ।
गोरखामा बर्षेनी सुन्तला उत्पादन घट्ने क्रममा रहेको ढुङगानाले बताइन् ।
आर्थिक वर्ष २०७९÷८० मा करिव १९ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत बर्ष १६ सय मेट्रिक टन मात्र उत्पादन भयो । यो वर्ष पनि उत्पादन घटेर १४ सय मेट्रिक टनमा झर्ने भएको छ । बोटमा बिभिन्न प्रकारका रोग देखा पर्नु, प्राङ्गारिक मलको र सिंचाइको अभाव लगायतका कारणले उत्पादन घटेको उनले बताइन ।
गोरखामा ‘सुन्तला जोन’ कार्यक्रम लागू हुदै आएको छ । गण्डकी गाउँपालिका, भीमसेनथापा गाउँपालिका, शहिदलखन गाउँपालिका र गोरखा नगरपालिका र पालुङटार नगरपालिकाको वडा नं ९ र १० लाई समेटेर जोन लागू भएको छ ।











