धनगढी — कैलाली निर्वाचन क्षेत्र नं. ३ मा नागरिक उन्मुक्ति पार्टीका ४४ वर्षीय गंगाराम चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले सत्ता गठन्धनका कृष्णकुमार चौधरीलाई ५ हजारभन्दा बढी मतान्तरले पराजित गरे । गंगारामले २३ हजार १ सय २० मत प्राप्त गर्दै गठबन्धनका उम्मेदवार माओवादीका कृष्णकुमार चौधरीलाई ५ हजार ३ सय ७१ मतको अन्तरमा जिते ।
गठबन्धनका चौधरीले १७ हजार ७ सय ४९ मत प्राप्त गरेका थिए । कैलालीको क्षेत्र नम्बर ३ संविधानसभा २०६४ देखि लागतार माओवादीका उम्मेदवार जित्दै आएका थिए । यसअघि माओवादीबाट जितेका गौरीशंकर चौधरी एमाले प्रवेश गर्दै उम्मेदवार बनेका थिए । उनले ९ हजार ८ सय मत प्राप्त गरेका छन् ।
कैलालीको भजनी २ को मोहनपुरमा साधारण किसान परिवारमा जन्मेका चौधरीले स्नाकोत्तरसम्मको शिक्षा लिएर धेरै वर्ष गैरसरकारी संस्थामा काम गरेको अनुभवसमेत छ । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सदस्य नहुँदासम्म उनी गैरसरकारी सस्थामा कामसमेत गर्दै आएका थिए । गत स्थानीय तहको निर्वाचनभन्दा ३ महिनाअघि जन्मेको उन्मुक्ति पार्टीका उनी संस्थापक केन्द्रीय सदस्य हुन् । उनको राजनीतिमा प्रवेश भने कांग्रेसको विद्यार्थी संगठनबाटै सुरु भएको थियो । २०७४ अघिसम्म उनी कांग्रेसको भजनी क्षेत्रीय समितिका सभापति थिए । चौधरीले ०७४ बाट कांग्रेसको सक्रिय राजनीति त्यागेका हुन् । ०७४ कै निर्वाचनमा उनले टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई जिताउन लागेका थिए । रेशम ०७४ मा कैलाली १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । रेशमले त्यसबेला जसपाबाट उम्मेदवारी दिएका थिए । उनलाई ०७२ भदौमा टीकापुरको हिंसात्मक घटनापछि सोझा किसान थारू परिवारमाथि अन्याय र अत्याचार भएको लाग्यो । उनले भने, ‘म कांग्रेस छोड्दैन थिएँ तर टीकापुरको घटनालाई राजनीतिक अधिकारको आन्दोलनको रूपमा समेत कांग्रेसले लिएन । निर्दोष थारूमाथिको कारबाहीमा उल्टै साथ दियो,’ गंगारामले भने ।
उनी ०७८ फागुनमा निर्वाचन आयोगमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीका संस्थापक सदस्य तथा संगठन विभागमा काम गर्दै आएका छन् । प्रतिनिधिसभा सदस्यमा मंगलबार निर्वाचित भएपछि चौधरीले भने, ‘हामी न्यायका लागि चुनावमा होमिएका थियौं । टीकापुर हिंसात्मक घटनापछि थारूमाथि भएको अन्याय र राजबन्दीको रिहाइका लागि प्रतिनिधिसभामा बिगुल फुक्ने काम गर्नेछु ।’ उनले आफ्नो दोस्रो एजेन्डा स्थानीयको समृद्धि र विकासका लागि पहल गर्ने भएको बताएका छन् । उनले निर्वाचन क्षेत्र ३ को अधिकांश भूभाग डुबान क्षेत्रमा पर्ने भएकाले त्यसको निकासका लागि पहल गर्ने बताए । कैलालीको ५ वटा निर्वाचन क्षेत्रमध्ये १, र २ मा पनि नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ ।











