आर्थिक अभावले प्रविनाको विज्ञान पढ्ने सपना अधुरो

तनहुँ, जेठ ६ गते । राम्रो अङ्क ल्याएर एसइई उत्तीर्ण गरे पनि आर्थिक अभावका कारण तनहुँकी एक जेहेन्दार बालिकाको उच्च शिक्षाको सपना अधुरो हुने अवस्थामा पुगेको छ । भानु नगरपालिका–२ निवासी कुँवर परिवारमा परेको लगातारको पारिवारिक तथा आर्थिक सङ्कटका कारण प्रविना कुँवरको विज्ञान विषय अध्ययन गर्ने चाहना संकटमा परेको हो ।

घरमूली प्रदीप कुँवर गाउँमा ज्यालामजदुरी गरेर परिवार चलाउँदै आएका थिए।  तर, दुई वर्षदेखि प्रदीपकी जीवनसङ्गिनी विष्णुमाया निरन्तर बिरामी परेपछि उपचारका क्रममा परिवारको थोरै जमिन तथा जायजेथासमेत सकिएको छ । उपचारकै क्रममा १० लाख रुपैयाँभन्दा बढी ऋण लागेको परिवारमा  अहिले गम्भीर आर्थिक र मानसिक समस्यामा परेको छ ।

गत मङ्सिरदेखि विष्णुमायाको दुवै मिर्गौलाले काम गर्न छोडेपछि हाल विष्णुमायाको हप्तामा दुई पटक डायलाइसिस भइरहेको छ । यस्तो कठिन पारिवारिक अवस्था र अभावका बाबजुद प्रविनाले यस वर्षको एसइई परीक्षामा होमराज लोहनी शारदा सदन माध्यमिक विद्यालयबाट ३.१४ जिपिए ल्याएर उत्तीर्ण भएकी छिन्।

तर, अब कसरी अगाडि पढ्ने र घरखर्च कसरी चलाउने भन्ने चिन्ताले कुँवर परिवारलाई पिरोलेको छ । विज्ञान विषय लिएर अध्ययन गर्ने तीव्र इच्छा भए पनि आर्थिक अभावका कारण सपना अधुरो हुने चिन्ताले आफू मर्माहत भएको प्रविनाले बताएईन्। आँखाभरि आँसु पार्दै प्रविनाले भनिन्।, “मलाई विज्ञान पढ्ने असाध्यै रहर छ । तर घर नजिकको विद्यालयमा विज्ञान विषय छैन । टाढा गएर डेरा लिएर पढ्न बुबासँग खर्च गर्ने अवस्था छैन ।”

बिरामी आमा विष्णुमायाले ओछ्यानबाटै भावुक हुँदै भनिन्, “आफ्नो रोग त भाग्यको खेल भयो, तर मेरै उपचारका कारण तीक्ष्ण बुद्धि भएकी छोरीको भविष्य अन्धकार हुन लागेको छ । आफू मरे पनि छोरीले पढ्न पाए हुन्थ्यो भन्ने लाग्छ ।”

बुबा प्रदीप कुँवरले पनि जायजेथा सकिएकाले दैनिक जीवन चलाउनै कठिन भएको र छोरीलाई पढाउने कुनै उपाय नभेटिएको बताए।

भानु नगरपालिका–२ का वडाध्यक्ष केशवराज त्रिपाठीले कुँवर परिवारको अवस्था अत्यन्त दयनीय रहेको बताउँदै जेहेन्दार बालिकाको शिक्षाका लागि सहयोगी हातहरूको आवश्यकता रहेको उल्लेख गरे।

त्रिपाठीले भने, “उपचारकै क्रममा परिवारको सम्पत्ति सकिएको छ । यस्तो अवस्थामा प्रविनाको पढाइ र आमाको जीवन बचाउन सहयोग गर्ने व्यक्ति यस परिवारका लागि भगवान् सरह हुनेछन् ।”

सम्पत्तिका नाममा टिनले छाएको सानो घर मात्र बाँकी रहेको यस परिवारलाई प्रविनाको शिक्षा तथा विष्णुमायाको उपचारका लागि सहयोग गर्न चाहनेले परिवारको मोबाइल नम्बर ९८१९१८२२८ मा सम्पर्क गर्न सक्नेछन् ।